Harsamaya
जुगल गाउँपालिकाले भन्यो: सार्वजनिक सम्पत्ति क्षतिमा खुसी मनाउने कर्मचारी र शिक्षक राजीनामा दिनूस्
जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो ।

सिन्धुपाल्चोक - जुगल गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति क्षतिग्रस्त हुँदा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्ने गाउँपालिकाका कर्मचारी र शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ।

शनिबार गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै देश जल्दै गर्दा खुसी मनाउने कर्मचारी र शिक्षक–शिक्षिकाहरूलाई आइतबारदेखि कार्यालयमा हाजिर नहुन आग्रह गरेका हुन्।

अध्यक्ष स्याङ्बोले जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध भएकाले यसको समर्थन स्वाभाविक भएको बताए। तर, सार्वजनिक संरचना जलेकोमा खुसी प्रकट गर्ने प्रवृत्ति अस्वीकार्य भएको भन्दै उनले भने, ‘तपाईंहरू सरकारी कर्मचारी हुन योग्य छैन। अब देशको ठूलो धनराशी तपाईंहरू खुसी भएर जलाएको संरचना बनाउन खर्च हुन्छ। त्यसैले आफैंले बुझेर राजीनामा दिनुहोस्।’

गाउँपालिकाले यस्ता कर्मचारी र शिक्षक–शिक्षिकाको विवरण संकलन भइसकेको समेत जनाएको छ। राजीनामा नदिए कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी अध्यक्ष स्याङ्बोले दिएका छन्।

resham-1757779210.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update