
काठमाडौं - लेखक एवम राजनीतिक विश्लेषक लाओस राईले जेनजी पुस्ताले गरेको आन्दोलनमा घुसपैठ हुँदा ‘अराजक’ र ‘आतंकवाद’ जस्तो रुप देखिएको विश्लेषण गरेका छन् ।
हाल जेनजीहरुले उठाएको माग २०६२/०६३ पछि नै अगाडि आएको भएपनि हाल आएर विस्फोट भएको औंल्याए । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले यो आन्दोलनको स्वरूप आतंकवादजस्तो देखिएको जिकिर गरे ।
उनले भने,‘जेनजीहरुले हाल उठाएको माग ०६२।६३ देखिनै हो । हाल फ्रस्टेसनको विस्फोट हो । तर हाल जसले आन्दोलन सुरु गर्यो, त्यसले नियन्त्रणमा राख्नै सकेन । यसको स्वरूप आन्दोलन नभएर आतंकवादजस्तो देखिन्थ्यो । त्यसबारे सरकारले सत्यतथ्य छानबिन गरे थाहा हुन्छ ।’
साथै उनले जुनसुकै परिवर्तन आन्दोलनभन्दा पछाडि यस्तै घट्ना हुने बताउँदै प्रहरी प्रशासनलाई दोष दिने भन्दापनि जनताले आफैंले आफैंलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे । उनले जतिसक्दो चाँडो सरकार नबनाएसम्म त्यसको प्रतिक्रान्ति हुने डर रहेको बताए ।
उनले भने,‘आन्दोलन गलत बाटोमा अघि बढेपछि प्रहरी प्रशासनले नियन्त्रण गर्न सक्दैन् । हाल त्यो परिणाम देखियो । जुनसुकै बेलामा परिवर्तनको आन्दोलनभन्दा पछाडि यस्तै हुन्छ । जनता सुरक्षित नहुन सक्छन् । त्यसैले जनता आफैंले समन्वय गरेर आफैंले आफैंलाई नियन्त्रण गर्ने हो । आफैंले आफैंलाई एउटा समिति बनाएर सुरक्षित रहने प्रयास गर्नुपर्छ । सरकार ढिलो–चाँडो बनेपनि त्यसले शान्तिपूर्ण निकास दिएन भने फेरि प्रतिक्रान्ति हुनसक्छ । अब प्रतिक्रान्ति भयोभने बढी घातक हुन्छ ।’
लेखक राईले अहिले राजनीतिक दलहरु, युवा संघ संगठनहरु पनि संविधानलाई रक्षा गर्नुपर्छ भनेर अगाडि बढेका छन् । कोही मान्छे संविधान ध्वस्त पार्नुपर्छ भनेर लागिरहेका कारणले गर्दा पनि अब झन् कठिन परिस्थिति निर्माण हुने धारणा राखे ।
‘अहिले राजनीतिक पार्टीका संगठनहरूका बीच, विद्यार्थी संघ संगठनका साथीहरू पनि संविधानलाई रक्षा गर्नुपर्छ आइरहेका छन् । कोही मान्छे संविधान ध्वस्त पार्नुपर्छ भनेर लागिराछन् । त्यस कारण अब झन् कठिन परिस्थिति निर्माण हुनुसक्छ,’ उनले भने ।
उनको अनुसार प्रदर्शनकारीलाई भौतिक संरचना जलाउनबाट रोक्नका नेपाली सेनाले गोली चलाउनुपर्ने आवश्यक हुनेथियो । त्यसैले भौतिक संरचनाभन्दा माथि मानिसको ज्यानलाई ध्यानमा राखेर सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनी बताउँछन् ।
उनले भने,‘आन्दोलनकारीले सजिलोसँग निर्धक्क भएर भौतिक संरचनाहरू जलाए । तत्कालीन अवस्थामा, राष्ट्रपति वा सेनाले भौतिक संरचना जोगाउन लागेको भए अझै धेरै जनाको ज्यान जाने थियो । क्रूर बन्नुपर्ने परिस्थिति आउँथ्योहोला । अधिक धेरै गोलीबारी गर्नुपर्ने अवस्था आउथ्योहोला, तर त्यो भएन । त्यसैले भौतिक संरचनाभन्दा पनि मान्छेको ज्यान महत्त्वपूर्ण ठानेर सेनाले राम्रो भूमिका निर्वाह गरेको देखिन्छ ।’
प्रधानमन्त्रीको राजीनामा आइसकेपछि पनि राष्ट्रपति जनतामाझ नआएको भए पछिल्लो अवस्था झन् कल्पना गरेभन्दा खतरा हुने उनको भनाई छ । ‘अब प्रधानमन्त्री छनोट गरेपछि उनलाई सपथ राष्ट्रपतिले नै खुवाउनुपर्ने अवस्था छ । त्यसकारण राष्ट्रपतिको भूमिका अझै महत्वपूर्ण छ । यस्तोबेला राष्ट्रपतिको भूमिका सबैभन्दा निर्णायक छ । हालसम्म उहाँको भूमिका सन्तोषजनक देखिन्छ,’ उनले अगाडि भने,‘नेपाललाई बङ्गलादेशसँग तुलना गर्न मिल्दैन । बंगलादेशमा जस्तो धार्मिक अतिवाद यहाँ छैन् । निरपेक्षता भएको कारणले गर्दा सद्भाव कायम छ । त्यसकारण बङ्गलादेशसँग हालको अवस्थालाई दाँज्न मिल्दैन् ।’
अबको निकास भनेको शान्ति र आन्दोलनका एजेण्डा पूर्णरूपमा लागू गर्नुपर्नेमा जोड दिए । मान्छेभन्दा भौतिक संरचना ठूलो नभएको सुनाउँदै उनले भौतिक संरचना फेरि बनाउन सकिने उनले विश्वास व्यक्त गरे ।
‘अबको निकास भनेको सबभन्दा सुरुमा शान्ति हो । त्यसपछि प्रधानमन्त्री चयन । अनि सुशासन हो । जेनजीहरुले पनि आफ्ना एजेन्डाहरु समाजमा लागू गरेभने त्यसलाई सफलता मान्न सकिन्छ । मान्छेभन्दा भौतिक संरचना ठूलो होइन । त्यसलाई निर्माण गर्न सकिन्छ,’ उनले भने,‘फ्रान्समा पनि अस्ती भर्खर ऐतिहासिक संरचनामा ध्वस्त भयो, आगो लाग्यो । तर त्यसलाई मान्छेले बनाए । हाम्रा ऐतिहासिक संरचना ध्वस्त हुँदा दुःख लागेको छ । इतिहासमा कहिल्यै पनि नभएको घटनाहरू भयो।’
भ्रष्टाचारविरुद्धको अभियान राजनीतिक पार्टी र नेताहरूले पूर्णरूपमा सोचेनन् भने अब राजनीतिक पार्टीभित्र विद्रोह उत्पन्न हुने उनको ठहर छ ।