
काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम गर्ने बताएका छन् ।
शनिबार नेपाल कुरियर सेवा संघको ३१ औँ बार्षिक साधारण सभा तथा कुरियर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कुरियर सेवालाई सरकारले गर्नुपर्ने नियमन र व्यवस्थित गर्न नीतिगत काम गर्ने बताएका हुन् ।
उनले भने, ‘सरकारले दिनुपर्ने, मन्त्रालयले दिनुपर्ने, खासगरी अहिले प्रचलनको बोझबाट अगाडि बढिरहेको छ। वाणिज्य क्षेत्र खासगरी घरेलु बजार भन्दा अझ बढी उन्नत र तपाईंको अन्तर्राष्ट्रिय मार्केट भइसकेपछि त्यसलाई नियमन गर्ने, यसलाई व्यवस्थित गर्ने, तपाईंहरूको सेवालाई आकर्षक बनाउने। त्यहाँ त्यसमा आइपर्ने अनेक खालका कतै चोरीको कुरा होला, कहीँ अवैध खालका घुसपैठिका विषयहरू होलान् । त्यसलाई कसरी समाधान गर्न म उपयुक्त समयमा चाँडै मन्त्रालयमा आमन्त्रण गर्ने छु, छलफल गर्ने छु।’
उनले आजको डिजिटल प्लेटफर्मको विकासले हुलाक सेवा विस्थापन भए पनि संसारभरका नेपालीलाई जोड्न सफल भएको बताए।
‘आजको डिजिटल प्लेटफर्मको विकास भइसकेपछि, डिजिटल प्रणालीले नयाँ खालको विकास गरिसकेपछि खासगरी हुलाक सेवा जुन रूपमा थियो, त्यो पुराना चिजहरू विस्थापन भयो,’ उनले भने, खासमा नेपालीहरू संसारभर फैलिसकेपछि उसको कुनै न कुनैरुपा हामीसँग जोडिएका छन् । आफ्नो मातृभूमिसँग आजको कर्मभूमिमा हुँदाखेरि त्यसको कुनै न कुनै लगाव, व्यवसायिकता या करेन्सीको या फेमिलीवर विभिन्न हिसाबले सम्बन्ध छ। त्यसैले त्यसलाई एउटा जोड्ने सेवा प्रवाह र व्यवसायिकतालाई त्यो विषयले अझ यसले बढोत्तरी पायो।’
उनले व्यवसायलाई मर्यादित, भरपर्दो बनाउन आइपरेका समस्याको पहिचान गरी कार्यविधि र नियमावली बनाउनुपर्ने समेत बताए ।