Harsamaya

रामेछाप -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अधिनायकवादतर्फ उन्मुख प्रवृत्ति भएको बताएका छन् । 

शुक्रबार मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्ने प्रयास सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै असम्भव हुने बताए ।

सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने काम सुझबुझका साथ चरणबद्ध रूपमा गर्नुपर्नेमा प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको संकेत भएको उनको भनाइ छ । 

करिब ८० लाख नेपाली विभिन्न देशमा बसोबास गरिरहेका र उनीहरूका लागि आफ्ना आफन्तसँग जोडिने प्रमुख माध्यम सामाजिक सञ्जाल नै भएको उनको भनाइ छ । यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा व्यापक जनआक्रोश सिर्जना हुने र जनताको आवाज दबाउन नसकिने उनको भनाइ छ । 

रास्वपाले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको  र काठमाडौं फर्किएपछि यस विषयमा थप विस्तृत रूपमा सार्वजनिक रूपमा बोल्ने उनले बताए ।  सरकारको यो कामले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र व्यवसाय समेत खोसेको उनको आरोप छ । 

अदालतले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न भनेको बताउँदै उनले प्रतिबन्ध लगाउन नभनेका दाबी गरे । ’कानुन बनाएर व्यवस्थित गर भनेको हो, बन्द गर भनेको होइन, सरकारले नबुझेको हो,  अदालतको स्प्रिडलाई सरकार बुझेन’, उनले भने ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update