
हेटौंडा - बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री प्रभात तामाङले कार्यशैलीमा स्पष्ट परिवर्तन ल्याएका छन्। भदौ २ गते रसुवामा आयोजित कार्यक्रममा स्वागत ग्रहण गर्दै उनले भने, ‘तपाईँहरूको मतले मलाई प्रदेशको आर्थिक समृद्धिको मार्ग पहिल्याउने स्थानमा पुर्याएको छ। अब मन्त्रालयमै बसेर नीति निर्माणमा केन्द्रित हुन दिनुहोस्।’
उनको बुझाइमा सरकारको जिम्मेवारी सम्हालेपछि बढी समय सभा, समारोह, स्वागत र बधाईका कार्यक्रममा खर्चेमा मन्त्रालयको नियमित काम प्रभावित हुन्छ। त्यसैले उनी अहिले सार्वजनिक बिदा बाहेक हरेक दिन कार्यालय समयमा मन्त्रालयमै उपस्थित भएर नीति निर्माण र फाइलको काममा केन्द्रीत भइरहेका छन्।
सचिवालयका अनुसार, मन्त्री नियुक्त भएको दुई साताभित्रै उनले विभिन्न मन्त्रालयबाट आएका एक दर्जनभन्दा बढी फाइल अगाडि बढाएका छन्। साथै, प्रदेश मातहतका कार्यालयमा अस्थायी कर्मचारी व्यवस्थापन, कानुन निर्माणका प्रक्रिया र विभिन्न अध्ययन कार्यलाई पनि गति दिइएको छ।
मन्त्री तामाङले प्रदेशको आम्दानी बढाउने, खर्चमा मितव्ययिता गर्ने र मागमा आधारित बजेट वितरण अन्त्य गरेर आवश्यकतामा आधारित बजेट प्रणाली लागू गर्ने अठोट लिएका छन्। यसका लागि उनी सरोकारवाला र विज्ञहरूसँग निरन्तर परामर्श गरिरहेका छन्।
उनको यो कार्यशैलीलाई नीति निर्माणमा गम्भीर ध्यान दिने प्रयासका रूपमा हेरिएको छ। प्रदेशको आर्थिक समृद्धि र विकासलाई नतिजामूलक बनाउन उनले थालेको कदमले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।