
विराटनगर - कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबीच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ ।
मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँगै कर्मचारी वृत्तमा पनि ठूलो तरङ्ग ल्याएको हो ।
सचिव पाण्डे निकट स्रोतका अनुसार मन्त्री हाङ्गामले कार्यालयमा आफ्ना मान्छे नियुक्त गर्न, सचिवालयका कर्मचारीको भत्ता तत्काल भुक्तानी गर्न र नीति निर्माणमा हस्तक्षेप गर्ने जस्ता दबाब दिँदै आएका थिए । तर, सचिवले अस्वीकार गरेपछि सम्बन्ध चिसिएको हो ।
पाण्डेले स्वयं पनि गाडीको चाबी खोसिएको पुष्टि गर्दै भने, ‘म र उहाँबीच व्यक्तिगत विवाद छैन, तर किन यस्तो गर्नुभयो भन्ने बुझ्न सकिएन ।’ सचिव पक्षले यसलाई मन्त्रीको अनुशासनहीनता र ‘दादागिरी’को उदाहरण भन्दै आलोचना गरेको छ ।
तर, मन्त्री हाङ्गाम निकट स्रोतका अनुसार सचिव पाण्डे जहाँ गए पनि विवादमा पर्ने गरेका छन् । मन्त्री पक्षले पाण्डेमाथि राजनीतिक दबाबमा सरुवा बदर गर्ने, गुटबन्दी गर्ने र मन्त्रालयका काम–काज अवरुद्ध गर्ने आरोप लगाएको छ । सचिवका कारण किसानका लागि ल्याइएका व्याज अनुदान कार्यक्रम, बजेट खर्च र ‘खोरेत रोगमुक्त अभियान’ समेत प्रभावित भएको मन्त्री पक्षले बताएको छ ।
मन्त्री हाङ्गामले समेत भनेका छन्,‘एक पटक सरुवा भइसकेको सचिवलाई फेरि फर्काइन्छ भने म त्यस्तो सचिवसँग बसेर काम गर्न सक्दिनँ ।’
कर्मचारी संगठनको आपत्ति
यस घटनाले कर्मचारी वृत्तमा ठूलो प्रतिक्रिया ल्याएको छ । नेपाल निजामती कर्मचारी संगठन, कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै मन्त्री हाङ्गामको व्यवहारलाई ‘अमर्यादित, अपमानित तथा अत्यन्त घृणित’ भन्दै कडा शब्दमा भत्र्सना गरेको छ ।
संगठनका अध्यक्ष हरि प्रसाद सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीबाट गरिएको अमर्यादित व्यवहारले कर्मचारीको मनोबलमा ह्रास आउने मात्र नभई कार्यस्थलमा सुरक्षित वातावरणको प्रत्याभूति समेत संकटमा परेको छ ।’
संगठनले मन्त्रीलाई तत्काल सार्वजनिक रूपमा क्षमा याचना गर्न र भविष्यमा यस्ता घटना नदोहोर्याउन माग गरेको छ । साथै दोषीमाथि आवश्यक कारबाही गर्दै प्रदेशका सम्पूर्ण निकायमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
विवादरहित छैनन् मन्त्री र सचिव
यसअघि पनि मन्त्री हाङ्गाम र सचिव पाण्डे दुवै जना विवादरहित पात्र भने होइनन् । बजेट निर्माणमा ‘बाइपास’ गरेको भन्दै धम्की दिनेदेखि लिएर आफ्नै जिल्ला ताप्लेजुगंमा स्थानीय नेता र प्रहरीका कर्मचारीलाई समेत कुटपिट गरेको सम्मका घटनाले उनलाई आलोचनामा राखेको छ ।
मन्त्री हुनु अघि उनले तत्कालीन प्रहरी प्रमुख डीएसपी (हाल एसपी) राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की समेत दिएका थिए ।
अर्कोतर्फ, सचिव पाण्डे पनि जहाँ गएका पनि विवादमा तानिने गरेका छन् । बागमती प्रदेशमा रहँदा पाण्डे सरकारी गाडीको दुरुपयोग गर्दै मुस्ताङ पुगेका थिए ।
मन्त्रालयमा आफू चढ्ने गाडी लिएर परिवार सहित पाण्डे मुस्ताङमा घुम्न पुगेको घटनाले समेत उनलाई विवादमा तानेको थियो । कोशी प्रदेशमा मन्त्री र सचिवको टकराबले सेवाग्राही भने समस्यामा परेका छन् ।