Harsamaya
नेपालको ऐन, कानुन र नियमहरू परम्परावादी छन् : दाहाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको ऐन, कानुन, नियमहरू परम्परावादी रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पोष्ट बहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२ मा बोल्दै उनले नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानुन बन्न नसकेको भन्दै ऐन, कानुन परम्परावादी रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालले किन विकास लिन सकेको छैन भन्दा नेपालको ऐन, कानुन, नियमहरू अझै पनि परम्परावादी नै धेरै छन् । नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानुन अझै पनि बन्न सकेका छैनन् । कयौँ आवश्यक कानुनहरू रोकिएका छन् । अर्को हाम्रो ब्यूरोक्रेसीको पुरै सोच परम्परावादी छ । यसलाई गति दिने खालको छैन।’

उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा रहेको परम्परालाई तोड्ने प्रयास गरेको बताए ।

‘मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा पनि नयाँ सेट ल्याएकै हो । र सरकारको नेतृत्वमा पनि अलि ऊर्जावान्, गतिशील मन्त्री बताउन खोजेकै हो । त्यति बेला जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने कुरा र कुलमानलाई एम डि बनाउने कुरा ऊर्जा क्षेत्रमा परम्परागत तोड्ने कुरासँग सम्बन्धित थियो,’ उनले भने ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न सरोकारवाला संस्थाहरूको पदाधिकारीहरू परिवर्तन भई रहँदा नीति बनाउन असहज हुने बताए ।

‘हाम्रो के देखिएको छ भने हाम्रो चाँहे धितो पत्र बोर्ड होस्, चाँहे प्रमोटर र पब्लिक शेयर छुट्टाउने वास्तवमा नयाँ, नयाँ पदाधिकारी फेरिँदाखेरी उहाँहरूले आफ्नो आफ्नो हिसाबले नीति बनाउनुहुन्छ,’ उनले भने । 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update