
काठमाडौं - सभामुख देवराज घिमिरेले तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको बताएका छन् ।मंगलबार तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस अवसरमा सबैलाई विद्यमान लैङ्गिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरू हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक रहेको बताए ।
उनले भने,‘तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको छ। साथै, यस पर्वले समाजमा लैङ्गिक समानता, सामाजिक सद्भाव र पारिवारिक मिलनको महत्त्वलाई उजागर गर्दै आएको छ । यस अवसरमा हामी सबैलाई विद्यमान लैङ्गिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरू हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक छ।’
नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहु जातीय र बहु भाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक रहेको बताउँदै उनले संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृक्तिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको बताए ।
‘तीज पर्वको मौलिकता, धार्मिक आस्था र सांस्कृतिक मूल्यलाई भावी पुस्तासम्म जोगाउँदै हस्तान्तरण गर्ने हाम्रो सामा दायित्व रहेको उनको भनाई छ । आधुनिक प्रवृत्तिसँगै देखिने भड्किलोपन र खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक छ।’उनले भने