धादिङ - धादिङको गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गल्छी गाउँपालिका–७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डडेलधुराका २८ वर्षीय बरुणप्रसाद भट्टको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहान ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भट्टलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक भट्ट डडेलधुराको अजयमेरु गाउँपालिकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ का अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

