
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीकको रूपमा समेत रहेकोले यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक रहेको बताएका छन् ।
हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले आदर्शमय तथा एकात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेको बताए ।
उनले भने,‘शान्ति र प्रेरणाको रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय तथा एकात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेको छ । तीज पर्व भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीकको रूपमा समेत रहेकोले यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ ।’
परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रूपमा यस पर्वलाई मनाउँदै आएको उनको भनाई छ । राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुनसक्ने भेदभाव‚ हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्न तिज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिए।
‘परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रूपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ । परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । महिलाविरुद्ध हुनसक्ने भेदभाव‚ हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्न तिज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु ।’उनले भने