
जनकपुर - मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरू हस्तान्तरण गरेको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरू हस्तान्तरण गरेका छन् ।
मन्त्री लेखीले सीमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरूलाई काम गर्न असहज भइरहेकाले उनीहरूको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए । उनले अन्य सबै मन्त्रालयहरूको तुलनामा सबैभन्दा कम बजेट गृह मन्त्रालयको रहँदा पनि जनताको सुरक्षा र कानुनको पालना गर्न सबैलाई सहज हुने हिसाबले स्रोत साधनमा लगानी गर्दै आएको जानकारी दिए ।
मन्त्री लेखीले मधेश प्रदेशमा अहिले आपराधिक क्रियाकलापमा कमी आएको दाबी गरे । उनले प्रहरी जवानहरूले थोरै सुविधा पाएर पनि आफ्नो दायित्व निर्वाह गरिरहेको बताए । सञ्चार माध्यमहरूमा दिनहुँ चोरी निकासी, पक्राउ, हत्या हिंसाका समाचारहरू बढाइ चढाइ गरी सप्रेषण हुने गरेकामा मन्त्री लेखीले गुनासो गर्नुका साथै, सही सूचनाको आधारमा समाचार सम्प्रेश गर्न आग्रह पनि गरे ।
मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानलाई १२५ सीसीको २१ थान मोटरसाइकल, इलेक्ट्रिक कार दुई वटा र इलेक्ट्रिक पिक अप तीन वटा हस्तान्तरण गरेको छ ।