
रौतहट - पर्साको वीरगञ्जमा झाडापखाला लागेर उपचारका लागि आएका बिरामीहरूमा हैजाको जीवाणु भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएको हो ।
झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ति मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए ।
उनका अनुसार हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन् । शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ७ जनामा हैजा पुष्टि भएको हो ।
वीरगञ्जको विभिन्न स्थानका हालसम्म दश जनामा भिब्रियो कोलरी जीवाणुबाट हुने हैजाको सङ्क्रमण पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ ।
सो शाखाका प्रमुख राजु साहले शुक्रबारदेखि झाडा पखालाका बिरामीहरुको संख्या बढ्दै गएको बताए । झाडापखालाको उपचार गरिरहेका दुई जनाको मृत्यु भएको पनि हैजा कै कारण भएको हुनसक्ने आशङ्का गरिएको उनको भनाइ छ ।
यद्यपि ती दुवैको मृत्यु हैजाका कारण भए नभएको पुष्टि हुन भने बाँकी रहेको उनले जानकारी दिए । अहिले झाडापखालाका कारण वीरगञ्जको विभिन्न अस्पतालमा बिरामी भर्ना भएका छन् ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले विभिन्न अस्पतालमा पुगेर बिरामीको स्वस्थ्य तथा उपचारका बारेमा जानकारी लिएका छन् ।
यसैबीच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शैक्षिक प्रशासन महाशाखाले एउटा सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।
सूचनामा हैजा सङ्क्रमणबाट बच्न विभिन्न स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।