
बाजुरा - बाजुरामा एमडिजीपी डाक्टरको रुपमा आशिष कार्की गएका छन् । किस्ट मेडिकल कलेज ललितपुरमा अध्ययन सकेर निक साइमन संस्थाको सहयोगमा एमडीजिपीको डाक्टरको रूपमा उनी बाजुरा गएका हुन् । ३ वर्षदेखि एमडिजीपी डाक्टर बिहिन रहेको अस्पताल बाजुराले ३ वर्षको अन्तराल पछि एमडिजीपी डाक्टरको पद पाएको हो । यस अघि एमडिजिपी डाक्टरको रूपमा प्रेरित देवकोटा थिए ।
बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रूपमा पाएको हो । डाक्टर कार्कीले बाजुरेली जनताको स्वास्थ्य सेवामा कुनै कमी हुन नदिने बताएका हुन् ।
उनले भने, ‘बाजुराका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्न पछि हट्ने छैन। एमडीजीकी डाक्टर नहुँदा समस्या भोगी रहेका यहाँका स्थानीयलाई आफू आए पश्चात् सहज हुनेछ ।’
अस्पतालले ३ वर्षको अन्तराल पछि एमडीजीकी डाक्टर पाएकोमा एकदमै खुसी लागेको अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।
उनले भने, ‘करिब ३ वर्ष पछि हामीले एमडीजीकी डाक्टर पाएका छौ ।यो बाजुरेली बासीहरूका लागी खुसी कुरा समेत हो । जिल्ला अस्पताल बाजुरामा एमडीजीकी चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।’
एमडीजीकी चिकित्सक नहुँदा सामान्य घाउको शल्यक्रिया गर्न पनि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अब अन्त्य हुने अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताएका छन् ।
एमडीजीकी चिकित्सक आए पश्चात् एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतका स्वास्थ्य समस्याको सहज रूपमा शल्यक्रिया हुने डाक्टर यादवले बताए ।
बाजुरामा एमडीजिपी चिकित्सक आउँदा सामान्य खालका अप्रेसन समेत हुने भएका छन् । जसले गर्दा बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।