 
                                                            काठमाडौं - नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ ।
  
महासंघको २७औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पद सम्हालेपछि आज बसेको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट बेहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।   
यसैगरी समाचारका विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेका सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी महासङ्घका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिडिया मिसन गठन गरिएको पनि उनले जानकारी दिए । मिडिया मिसनमा केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका छन् ।
  
महासंघको २७औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समिति, सरोकार भएका सङ्घसंस्था, महासंघका सदस्य, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गरिएको पनि महासचिव दाहालले बताए ।
 
महासंघको इतिहासमा २७औँ महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त समूहका तर्फबाट अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी हुन् । २७ औँ महाधिवेशन गराउने कार्यसमितिको कार्यवाहक अध्यक्ष पनि संयोगले महिला नै भएको इतिहास पनि स्थापित भएको छ । 
 


 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    