
काठमाडौं - नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले डिजिटल मिडियाको तीव्र विस्तारसँगै साप्ताहिक पत्रपत्रिकाको अस्तित्व सङ्कटमा परेको बताएकी छिन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष अर्यालले विज्ञापनमा नीतिको अभाव, आर्थिक स्रोतको कमी र वितरण प्रणालीको पतनका कारण प्रिन्ट प्रकाशनहरू टिकाइ राख्न संघर्षरत रहेको बताएकी हुन् ।
‘पहिले घर–घरमा पत्रिका पुगोस् भनेर मेहनत गर्ने वितरण प्रणाली अहिले लगभग हराइसकेको छ’, अर्यालले भनिन्, ‘पत्रिका पसल नजिकै सहजै उपलब्ध हुने अवस्था पनि अब छैन ।’ अनलाइनबाट सूचना लिन सहज भएकाले पाठकहरूको बानी नै फेरिएको अध्यक्ष अर्यालले बताइन् । नेपालका राजनीतिक र सामाजिक परिवर्तनमा साप्ताहिक पत्रपत्रिकाको ऐतिहासिक योगदान स्मरण गर्दै महासंघले केन्द्रीय, प्रदेश र स्थानीय सरकारसमक्ष विज्ञापन र अनुदानमार्फत संरक्षणको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको उनले जानकारी दिइन् । तर पछिल्ला सरकारी नीति तथा प्रस्तावित मिडिया काउन्सिल विधेयक, साथै सिडिओ कार्यालयमार्फत मिडिया दर्ता गराउने प्रक्रियाप्रति पत्रकार महासंघ असन्तुष्ट देखिएको उनको भनाई छ।
उनले दर्ता प्रक्रिया सञ्चार मन्त्रालय अन्तर्गत हुलाक कार्यालयमार्फत वा स्थानीय तहसम्म पुर्याएर सहज बनाउन सुझाव दिइन् । नीतिगत सुधार र संवेदनशील हस्तक्षेप भए मात्र साप्ताहिक पत्रकारिताको ऐतिहासिक भूमिकालाई जोगाउन सकिने अध्यक्ष अर्यालले बताइन् ।