Harsamaya
चीनमा एक सय बढी नेपाली अलपत्र, स्वदेश फर्काइदिन माग
तातोपानी नाकाबाट नेपाल भित्रिएका नेपालीहरू ।

काठमाडौं - रसुवागढी नाका बन्द भएपछि चीनमा विभिन्न कामले पुगेका एक सय भन्दा बढी नेपाली नागरिक अलपत्र परेका छन् । रसुवागढी नाका हुँदै चीन पुगेका नेपाली नागरिक गत असार २४ मा आएको बाढीले रसुवाको मितेरी पुल बगाएपछि उतै अलपत्र परेका हुन् । 

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले मजदुरी गर्न जाने, चालक, सहचालक र व्यापारीहरू चीनमा अलपत्र परेको जानकारी दिए । ‘कोहीको औषधि सकिएको छ, कोहीको परिवारमा समस्या छ उनीहरू फर्कन चाहन्छौं भनेर फोन, म्यासेज गर्नुहुन्छ त्यसैले सरकारी निकायसँग समन्वय गरेका छौं’ सापकोटाले भने । 

आइतबार नै इको पहिरो निरिक्षणमा गएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडियो) बन्धु प्रसाद बास्तोलासहितको सरकारी अधिकारीहरूलाई पनि चीनमा फसेकाहरूको उद्धारका लागि सापकोटाले आग्रह गरेका थिए । जवाफमा सिडियो बास्तोलाले आफूले सक्दो पहल गर्ने आश्वासन दिएका उनले जानकारी दिए ।   

ल्हासामा रहेको नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले एक सय भन्दा बढी नेपाली नागरिक चीनमा फसेको जानकारी दिएका छन् । उनले फसेका नेपालीहरूलाई नेपाल फर्काउन पहल गरिरहेको बताए । कति नेपाली अलपत्र छन् भने ऐकिन तथ्याकं भने आफूसँग नभएको उनले बताए । ‘विभिन्न माध्यमबाट विभिन्‍न लिष्ट आएको छ त्यसको भेरीफाइ गर्दैछौं चिनियाँ पक्षलाई पनि भेरीफाइ गर्न भनेका छौं’ निरौलाले भने । 

उनले नेपालीहरूसँग पनि सम्पर्क गरेर जान चाहनेहरूलाई पहिचान गरी पठाउन चिनियाँ पक्षसँग छलफल गरेको जानकारी दिए । ‘चिनियाँहरूले वर्कआउट गर्दैछन्,  बेइजिङसम्म स्वीकृति लिएर पठाउनुपर्ने हुनाले प्रोसेस अलि लामो छ’,निरौलाले भने ।

यसै महिना चीनमा अलपत्र परेका २०५ जना नेपालीहरूको उद्धार गरिएको थियो । उनीहरू तातोपानी नाका हुँदै नेपाल फर्किएका थिए । 

यसैगरी निरौलाले तातोपानी नाकाबाट सहज रुपमा सवारी साधन सञ्चालनका लागि पनि पहल गरेको बताएका छन् । ‘चीनमा व्यापार गर्ने साथीहरूलाई अर्थ मन्त्री, भौतिक पूर्वाधार मन्त्रीलाई भेट्न सुझाएको थिएँ । अर्थमन्त्रीसँग भेट पनि भएछ । मैले त पहल गर्ने हो भनसुन गर्ने हो’ निरौलाले भने, ‘नेपाल सरकारले नै प्राथमिकतामा राख्नुपर्छ ।’

अरनिको राजमार्गको कोदारीमा सडक अवरुद्ध हुँदा तातोपानी नाकाबाट हुने आयात पनि सहज हुन सकेको छैन । 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update