Harsamaya
इन्द्रावती–८ मा गोले बोम्बोको पूर्णकदको शालिक अनावरण
गोले बोम्बो (गोले झाँक्री) को पूर्णकदको शालिक ।

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका–८ मा निर्माण गरिएको गोले बोम्बो (गोले झाँक्री) को पूर्णकदको शालिक विश्व आदिवासी दिवस, जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा अनावरण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले अनावरण गर्दै इन्द्रावती विभिन्न जाति, धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै यस्ता संरचनाको संरक्षणमा स्थानीयको सक्रियता अपरिहार्य रहेको बताए।

गोले तामाङ वंश उत्थान समाजका अध्यक्ष मिनप्रसाद गोलेले यस स्थानलाई संसारभरका गोलेहरूका लागि आकर्षणस्थलका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै १ लाख ४४ हजार रुपैयाँ सहयोगको घोषणा गरे।

पूर्व गाउँपालिका अध्यक्ष वंशलाल तामाङले समाजका हरेक धर्म, भाषा र संस्कृतिको संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको बताए। उनले आयोजकप्रति आभार व्यक्त गर्दै जनैपूर्णिमा, रक्षाबन्धन तथा गोने ङ्ह्याको शुभकामना दिए।

गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले पहिचान झल्काउने यस्ता संरचनाले लक्षित समुदाय मात्र नभई गाउँपालिकाको पहिचान बढाउने बताउँदै अन्य वडामा पनि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्।

गोले तामाङ वंश उत्थान समाजका उपाध्यक्ष हर्क गोलेले यस स्थानलाई गोलेहरूको आकर्षणस्थल तथा तीर्थस्थलका रूपमा विकास गर्नुपर्ने र यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

वडा नं. ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले संरचना निर्माणले तामाङ समुदायलाई जोड्ने काम गरेको बताउँदै पर्यटन विकासका लागि थप संरचना निर्माणमा गाउँपालिकाको ध्यानाकर्षण गराए।

कार्यक्रमको समापन गर्दै आयोजक ज्यामिरेमाने सिमबारी खर्क टोल विकास संस्थाका अध्यक्ष दयाराम तामाङले बाँकी संरचनाहरू निर्माणलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update