Harsamaya

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार काठमाडौंमा एक अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।

गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए ।

‘अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता  र समयको मागअनुसार नेकपा (एस) सँग पनि एकताका लागि छलफल चलेको छ,’ गुरुङले भने ।

नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने बतउँदै गुरुङले भने,‘समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायतका विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ ।’

स्थायी समिति बैठक जनार्दन शर्मा केन्द्रित भएको रहेछ नि ? भन्ने संचारकर्मीहरुको प्रश्नमा गुरुङले भने पार्टीमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको बताए ।‘पार्टी बलियो बनाउनुका साथै विचार मिल्ने शक्तिहरुसँग एकता गर्ने बेला आएको छ । अहिले देशमा बढ्दै गएको राजनितिक संकटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्नु हुन्न, गर्न पनि सकिँदैन,’गुरुङले थपे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तररुपमा सदन अबरुद्ध गर्दा महत्वपूर्ण विधेयकहरु रोकिने भएकाले २ बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सही भएको मूल्याङकन गरेको गुरुङले बताए । 


 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update