
काठमाडौं - बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुखस्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा मन्त्रिपरिषद् गठन तथा कार्य विभाजन गरिएको हो ।
मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री, डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् । कृष्ण कुमार बागमती प्रदेशका कान्छा मन्त्री बनेका छन् ।
कांग्रेसको भागमा परेको प्रदेशका १४ मध्ये ७ मन्त्रालयमा दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफै मातहत राखेका छन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामासँग भएको सम्झौता अनुरुप भागबण्डा नमिलेका कारण बानियाले पाँच मन्त्रालय आफैंले राखेका हुन् ।
कांग्रेसका २ र एमालेका ६ मन्त्री गरी आठ जनाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।