
तातोपानी - एक हप्तादेखि अवरुद्ध बनेको तातोपानी नाका शनिबार बिहानबाट खुलेको छ । अरनिको राजमार्गको कोदारीस्थित इको पहिरोमा सडक भासिँदा नाका एक सातादेखि ठप्प थियो ।
हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोको सास्ती खेप्नु पर्ने तातोपानी नाकाले यसपटक पनि उस्तै सास्ती खेप्नु परेको व्यावसायीहरु बताउँछन । सडक डिभिजन कार्यालय चरिकोट सडक खुलाउन एक हप्तादेखि प्रयासरत रहेपनि आज सफल भएको हो
सडक डिभिजन कार्यालय चरिकोटसँगै नाका खुलाउन नाका सम्बद्ध निजीक्षेत्रसमेत लागेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले बताए ।
गत असार २४ मा आएको बाढीबाट रसुवा नाका बन्द भएपछि व्यावसायीहरुले तातोपानीबाट आयात थालेका थिए । यता पनि नाका बन्द हुँदा व्यावसायी मारमा परेको अध्यक्ष सापकोटाले बताए ।
‘हामीले सरकारी निकायसँग समन्वय गरेर आज बाटो खुलाएका छौं, हरेक वर्ष वर्षायाम सुरु भएसँगै यो क्षेत्रमा सडक अवरुद्ध हुने गरेको छ’, अध्यक्ष सापकोटाले भने, ‘गत वर्ष पनि प्राकृतिक विपत्तिको मार खेपेको तातोपानी नाकामा यसवर्ष पनि सडक अवरुद्ध हुने र भासिने भइरहेको छ।’
नाका बन्द हुँदा राजस्व संकलन देखि व्यावसायीले मार खेप्नु परेको छ । नाकामा समस्या आएपछि नेपाल हिमालय सिमापार बाणिज्य संघले सडक खुलाउन पहल गरेको सिमापारका महासचिव रामचन्द्र पराजुलीले बताए । ‘हामी व्यावसायीहरुको छाता संघसंगठनले सरकारी संयन्त्रसग समन्वय गरेर अवरुद्ध बनेको बाटो खोल्न सहयोग गरेका छौं’, महासचिव पराजुलीले भने।
कोदारीको इको पहिरोले हरेक वर्ष दुख दिने गरेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले सबै निकायसँग समन्वय गरेर काम गरिरहेको सिन्धुपाल्चोक उद्योग बाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।
अवरुद्ध सडक खुलाउन एकहप्ता देखि विभिन्न ट्रान्सपोर्ट कम्पनीहरू समेत जुटेका थिए ।
तातोपानी नाकाबाट फलफूलको आयात थालेका व्यावसायीहरु बाटो अवरुद्ध हुँदा मारमा परेका छन् । चाडपर्व नजिकिएसगै आयात बढ्न थालेको छ । तर भौगोलिक अवस्थाका कारण भने समस्या निम्तिदैं आएको छ ।