Harsamaya

काठमाडौं - पछिल्लो समय नेपालमा गर्भपतनसम्बन्धी विषय पेचिलो बन्दै गएको छ । गर्भपतनको मुद्दामाथि निरन्तर बहस जारी छ ।  यो विषय स्वास्थ्य, कानुनी अधिकार, सामाजिक सोच र लैङ्गिक समानतासँग जोडिएको छ । 

विगतका दिनमा गर्भपतन लुकीछिपी गरिन्थ्यो, औपचारिक दर्ता नै नगरिकन गर्भपतन गराउने चलन थियो । हिजोआज सरकारी स्वास्थ्य संस्थाहरूमा सुरक्षित रूपमा गर्भपतन गराउने संख्या बढ्दो छ र यसलाई एउटा सकारात्मक परिवर्तनको रूपमा लिन सकिन्छ । 

तर अझै पनि धेरै महिला निजी अस्पताल, क्लिनिक वा गैरसूचीबद्ध स्थानहरूमा लुकीछिपी गर्भपतन गराउने गरेको प्रशस्त उदाहारण छन् । यसले उनीहरूको ज्यानलाई असुरक्षित त बनाएको छ नै समाजमाथि पनि प्रश्न उब्जिएको छ । समाजमा गर्भपतनलाई लिएर अझै पनि लाज, डर, बेइज्जतीको भावना व्याप्त रहेकाकारण पनि महिलाहरू खुलेर आफ्नो स्वास्थ्य अधिकारको प्रयोग गर्न सकिरहेका छैनन् ।

यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले समाज अझै पनि खुला हुन नसकेको भन्दै महिलाले गर्भपतन गराएको कुरा थाहा पाएपछि समाजले हेर्ने दृष्टिकोण नै फरक हुने बताए । 

उनले भने, ‘अझ पनि हाम्रो समाज खुलेको छैन् । यस कारणले पनि गर्भपतन गर्न गएको भन्ने बित्तिकै अलि बेइज्जत हुने महशुस गर्ने गर्छन् । त्यसकारणले पनि प्राय लुकेर दर्ता नभएको ठाँउमा गएर गर्भपतन गराउने गर्दछन् । यसले गर्दा पनि असुरक्षित भएको हो । यसबाट हाम्रो स्वास्थ्य सचेतना अझै कम छ भन्ने बुझिन्छ, हाम्रो समाज अझ खुलेको छैन् । बच्चा पाउने कि नपाउने भन्ने एउटा महिलाको आफ्नो अधिकारको विषय हो । यस मामलामा परिवार र समाजले अझै पनि सम्मान गरेको छैन् ।’

उनका अनुसार यही कारणले धेरै महिलाहरू असुरक्षित तरिकाले, गैरकानुनी ठाउँमा, गुपचुप रूपमा गर्भपतन गराउँछन् र महिलाको स्वास्थ्यमा गम्भीर परिरहेको छ । 

सुरक्षित सेवातर्फ सरकारको पहल भएपनि जबसम्म समाजको सोच परिवर्तन हुँदैन, तबसम्म महिलाले वास्तविक रूपमा आफ्नो अधिकार प्रयोग गर्न नसक्ने पनि उनको भनाई छ । 

उनका अनुसार गर्भपतन केवल एक चिकित्सकीय प्रक्रिया नभएर एक महिला आफैंले आफ्नो जीवन, भविष्य, शरीर र परिवारबारे निर्णय गर्न पाउने अधिकार हो, यो अधिकार नेपालको कानूनी व्यवस्था भित्र राखिएको छ, तर व्यवहारमा यसको कार्यान्वयन निकै चुनौतीपूर्ण छ । 

यसको साथै, ‘महिलाका लागि महिला मञ्च नेपाल’ की कार्यकारी निर्देशक सिर्जना पुनको भनाइ अनुसार, अझै पनि नेपालमा यौन शिक्षा अपर्याप्त छ । किशोर किशोरीहरूमा यौन, प्रजनन अधिकार र सुरक्षित सम्बन्धबारे शिक्षा नभएपछि उनीहरूले गलत निर्णय लिन सक्छन् र यसैको परिणाम स्वरुप अहिले असुरक्षित रुपमा गर्भपतन बढेको हो । 

उनले नेपालको समाजमा यौनसम्बन्धी विषयलाई खुला रूपमा छलफल नगरिने भन्दै शिक्षाको कमी र समाजको प्रतिकूल व्यवहारका कारण युवतीहरू सचेत हुँदा पनि डर र लाजले असुरक्षित गर्भपतनको बाटो रोज्ने बताइन् । 

उनले भनिन्, ‘यौनका सवालमा मात्रै भन्दा पनि देशभर नै गर्भपतनको विषय उठेको छ । यसको मूल कारण भनेकै नेपालमा यौन शिक्षा एकदमै कम दिइन्छ । यसबारे कुरा पनि कमै गरिन्छ । किशोर किशोरीहरुलाई पनि यसबारे राम्रो शिक्षा नदिएपछि युवा अवस्थासम्म पुग्दा पनि यस विषयमा ज्ञान कम हुन्छ र गलत बाटोमा जान सक्छन । जसका कराण असुरक्षित गर्भपतनको समस्या बढेको हो । समाजमा यस्तो कुरालाई सहजै लिने वातावरण नभएको हुनाले पनि अस्पताल नगई गर्भपतन गर्छन् त्यसले पनि जोखिम बढाउछ । यसबारे राम्रो सचेतना पनि नभएको पनि देखिन्छ, कतिले चेतना भएर पनि लाजले यस्तो काम गरेको देखिन्छ ।’ 

यसले उनीहरूको जीवनमा दीर्घकालीन असर पार्न सक्ने पनि उनको भनाई छ । यस्तै, स्त्रीरोग विशेषज्ञ डा. जितेन्द्र सिंहका अनुसार, गर्भपतनको प्रक्रिया जटिल र संवेदनशील हुन्छ, औषधि प्रयोग गरी गरिएको गर्भपतनपछि शरीरमा बाँकी रहेका पदार्थहरू हटाउन मेसिन प्रयोग गर्नुपर्छ । यस्तो मेसिनको प्रयोगले पाठेघरमा असर पुर्याउँछ, जसले भविष्यमा गर्भधारणमा समस्या आउन सक्छ । 

उनले बारम्बार गर्भपतन गर्दा अण्डा बन्ने क्षमता घट्ने, पाठेघरको बनावटमा परिवर्तन आउने र अन्ततः बाँझोपनको समस्या निम्तिन सक्ने भन्दै सुरक्षित गर्भपतन मात्र होइन गर्भपतनको आवश्यकता नै नपर्ने गरी पूर्वजानकारी र सतर्कता आवश्यक रहेको बताए ।

उनले भने, ‘असुरक्षित गर्भपतन अथवा धेरै पटक गर्भपतनले जोखिम निम्त्याउन सक्छ । गर्भपतनको लागि जुन औषधी प्रयोग गरिएको हुन्छ त्यसको केही मात्रा पाठेघरमा नै रहेको हुन्छ । 

त्यसलाई सफा गर्नुपर्ने हुन्छ । त्यो मेसिनले सफा गर्ने काम पनि हुन्छ । त्यो मेसिन प्रयोग गर्दा महिलाहरुको बच्चा बस्ने ठाँउमा असर पुग्न सक्छ । जसले गर्दा पछि गएर बच्चा बस्ने सम्भावना कम हुँदै जान्छ । धेरै पटक गर्भपतन गर्ने हो भने अण्डा बन्ने क्षमतामा पनि असर पर्न सक्छ । पाठेघरको बनावटमा पनि परिवर्तन आउन सक्छ । बाझोपनमा गर्भपतनको पनि केही हदसम्म हात हुन्छ । त्यसकारण असुरक्षित गर्भपतन नगर्न नै सुझाव दिन चाहन्छु ।’ 

नेपाल सरकारले सुरक्षित गर्भपतनका लागि निर्देशन जारी गरेको छ । सेवा प्रदायकहरूको सूचीकरण, केही अस्पतालहरूमा निःशुल्क सेवा लगायतका प्रयासहरू गरिएको छ । तर कानूनीरूपमा गर्भपतनलाई अपवाद स्वरूप मात्रै मान्यता दिइएकाले व्यवहारमा महिलाहरू अझै पनि सजायको भागी बन्न बाध्य छन् । 

मुलुकी ऐनको एघारौं संशोधनले गर्भपतनलाई निश्चित सर्तसहित कानूनी बनाएको छ । गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्म, बलात्कार वा हाडनाता करणीबाट गर्भ रहेमा १८ हप्तासम्म र यदि गर्भ रहनुले आमाको ज्यानमा खतरा हुने वा शारीरिक वा मानसिक स्वास्थ्यमा असर पर्ने भएमा जुनसुकै समयमा पनि गर्भपतन गर्न पाउने अधिकार दिइएको छ । तर यो व्यवस्था ज्यानसम्बन्धी महल अन्तर्गत राखिएकाले गर्भपतनलाई अझै पनि अपराधसँग जोडिएको विषयको रूपमा लिइन्छ ।

सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयका प्रतिवेदनहरूले देखाएका छन् कि अझै पनि गर्भपतनसम्बन्धी मुद्दाहरू अदालतमा दर्ता भइरहेका छन् र महिलाहरू कैद सजाय भोगिरहेका छन् । यसले के देखाउँछ भने कानूनी अधिकार भएरपनि व्यवहारमा न्याय र अधिकार सुनिश्चित हुन सकेको छैन ।

गर्भपतनलाई अपराधको रूपमा होइन, अधिकारको रूपमा लिने सोचको विकास आवश्यक छ । जबसम्म समाजले महिलालाई आफ्नो शरीरबारे निर्णय गर्ने स्वतन्त्रता दिँदैन, तबसम्म सुरक्षित गर्भपतन सम्भव हुँदैन । यो अधिकारको संरक्षणका लागि शिक्षा, सचेतना, सामाजिक समर्थन, र कानूनी स्पष्टता अपरिहार्य छन् । महिलाको प्रजनन अधिकार केवल कानूनी कागजमा सीमित हुनुहुँदैन, त्यो व्यवहारमा सम्मानित र कार्यान्वयनमा देखिनु जरुरी छ ।

समाजले अझै पनि महिलाको शरीरलाई आफ्नो सम्पत्ति सम्झने, महिला गर्भवती हुनु, नहुनु, जन्म दिनु कि नदिनु भन्ने निर्णय उसैको हो भन्ने कुरा समाजले अझै बुझ्न सकेको छैन ।

यस्तो सोच परिवर्तन गर्न परिवार, शिक्षा संस्था, राज्य र नागरिक समाज सबै मिलेर लाग्नुपर्नेमा सरोकारवाहरुको जोड । गर्भपतनबारे खुला बहस गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने र लाज, डर, आरोपको सट्टा समर्थन, समझदारी र संवेदनशीलता आवश्यक रहेको औंल्याइएको छ । 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update