
रामेछाप - पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् ।
जिल्लाको गोकुलगंगा गाउँपालिकामा निर्माणाधीन सडक योजना अलपत्र हुँदा नागरिकले हैरानी खेप्नु परेको छ ।
खिम्ति–फर्पु–नामाडी–बेताली–रस्नालु–ठोस सडकको रस्नालु गाउँपालिकामा पर्ने ९ किलोमिटर सडक समयमा नबन्दा सो सडक भएर यात्रा गर्ने यात्रीहरूले सास्ती बेहोरिरहेका छन् ।
गोकुलगंगा गाउँपालिकामा ९ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि २०८० को असार मसान्तमा काम सुरु भएको थियो । तर हालसम्म पनि सडक निर्माणको काममा ५० प्रतिशत पनि प्रगति भएको छैन ।
बेताली–रस्नालु–गर्जाङ सडकको बेताली–भिमसेनस्थान खण्डको ४.५ किलोमिटर सडक निर्माणको लागि ईश्वरी कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो ।
त्यस्तै दार्खाखोला–बुर्के–धारापानी खण्ड ४.५ किलोमिटर सडक निर्माणको जिम्मा पाँचपोखरी निर्माण सेवाले पाएको छ ।
स्थानीय सचिन कार्कीका अनुसार दुवै सडक खण्डको निर्माण अति सुष्त गतिमा भएको छ । ‘व्यवसायी भन्छन् रकम निकासा भएन, कार्यालय भन्छ व्यवसायीले काम गरेन, यी दुई पक्षबिचको आरोप प्रत्यारोपको हैरानी भने स्थानीयले खेप्नु परेको छ’, उनले भने ।
सडकमा निर्माणको काम अति सुस्त रहेको गोकुलगंगा गाउँपालिका–५ नामाडीका वडा अध्यक्ष दीपक कार्की बताउँछन् । ‘म्याद थप्ने, काम नगर्ने प्रवृत्तिले हैरान पारेको छ’, उनले भने ।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा काममा केही प्रगति भए पनि २०८१/०८२ मा काम ठप्पजस्तै रह्यो । अहिले पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्र प्रसाद पुनको नेतृत्वमा डोजरले मनपरी काम गर्दा सडक झनै बिग्रिएको उनले बताए ।
निर्माण व्यवसायीले समयमै काम नसकेका कारण सडकको अवस्था अस्तव्यस्त रहेको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशको गुनासो छ । ‘सडक पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने अवस्था छ, जोखिम मोलेर यात्रा गर्नुपरेको छ’, उनले भने ।
गाउँपालिकाले यसबीचमा सम्बन्धित निकायलाई १२ पटकसम्म ध्यानाकर्षण पत्र काटेको भए पनि ठोस परिणाम नआएको उनले गुनासो गरे ।
निर्माण व्यवसायीले पूर्वाधार कार्यालय लगायत कसैलाई पनि नटेरी काम नगरेको अध्यक्ष खड्काको आरोप छ ।