Harsamaya
सिक्किममा भानुको सम्झना, राज्यपाल र मुख्यमन्त्रीले गरे प्रशंसा
सिक्किममा नेपालमा जन्मिएका आदिकवि भानुभक्त आचार्यको  २११औं भानु जयन्ती मनाइएको छ ।

काठमाडौं - उत्तरपूर्वी भारतको सिक्किममा नेपालमा जन्मिएका आदिकवि भानुभक्त आचार्यको  २११औं भानु जयन्ती मनाइएको छ । गान्तोकको भानु उद्यानमा आयोजित समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्बोधन गरे ।

समारोहमा उपस्थितहरूले भानुको प्रतिमामा माल्यार्पण गरे । सो अवसरमा माथुरले प्रथम पद्मश्री सम्मानित लेखक सानु लामालाई श्रद्धाञ्जली अर्पण गर्दै उनको निधन सिक्किमी नेपाली साहित्य र संस्कृतिको लागि अपूरणीय क्षति भएको बताए।

सो अवसरमा उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभएर सभ्यता, संस्कृतिको पहिचान भएको बताए। ‘जब हामी मातृभाषालाई सम्मान गर्छौं, हामी हाम्रो विगतको सम्मान गर्छौं र हाम्रो भविष्यलाई निर्देशित गर्छौं,’ उनले भने ।

उनले भानु जयन्तीलाई केवल उत्सव मात्र नभई भाषिक एकता र सांस्कृतिक सम्पदाको प्रतीकको रूपमा वर्णन गरे। उनले सिक्किमको सामाजिक, सांस्कृतिक र आर्थिक विकासलाई उजागर गर्दै भारतको २२औं राज्य बनेको पाँच दशकमा सिक्किमले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। 

समारोहमा मन्त्रीहरू, लोकसभा सांसदहरू, विधायकहरू, उच्च अधिकारीहरू, जनप्रतिनिधिहरू, साहित्य प्रेमीहरू, विद्यार्थीहरू सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update