
काठमाडौं - नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बिच एकता महाधिवेशन गर्ने समझदारी भएको छ । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र नेसपासँग एकता गर्ने समझदारी भएको हो ।
नेसपाका अध्यक्ष महिन्द्रराय यादवले माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको बताए । माओवादीसँग पार्टी एकता गर्न सकारात्मक रहेको बताउँदै उनले भने, ‘यसै वर्ष माओवादीको महाधिवेशन गर्दा एउटै पार्टी बनाउने समझदारी भएको छ ।’
माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै तत्कालीन पार्टी एकता कार्यदलका सदस्य गङ्गानारायण श्रेष्ठ अघि बढेर १२ जेठमा माओवादी केन्द्रसँग एकता घोषणा गरेका थिए ।
उनले माओवादी केन्द्र नाम परिवर्तन गरेर ‘कम्युनिस्ट पार्टी समाजवादी’ हुनुपर्ने धारणा राख्दै आएका छन् । यद्यपि महाधिवेशनले जे निर्णय गरे पनि त्यसलाई स्विकार्ने यादवको भनाइ छ ।