Harsamaya
६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
संघीय संसद सचिवालय ।

काठमाडौं - आज संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दै छ ।आज प्रतिनिधि सभाका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

 दिउसो १ बजे बस्ने अर्थ समितिको  बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ भने दोस्रो सत्रमा नेपाल धितो पत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुने कार्यसूची  छ ।

त्यस्तै,आज दिउसो १ बजे बस्ने  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा  हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै  दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफलको कार्यसूची रहेको छ । सार्वजनिक लेखा समितिको बैठकमा समितिको २३औँ वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै,आज बिहान साढे ११ बजेदेखि बस्ने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसै गरी दिउसो १ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची राखिएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update