Harsamaya
चार छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
गोलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठ।

सिरहा - सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको छ।

गोलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो। 

नमुना विद्यालयमा अध्ययनरत्त चार जना छात्राहरू माथि शिक्षक श्रेष्ठले कक्षामा पढाउने क्रममा संवेदनशील अंगहरु छोइदिने, शरीर मुसार्ने अङ्गालो हालेर गाला सुमसुम्याउने जस्ता क्रियाकलाप गर्ने गरेको पीडित बालिकाहरूले बताएका छन्। 

पीडित बालिकाहरूले शिक्षक श्रेष्ठको दुर्व्यवहारबाट आजित भएर अभिभावकहरूलाई घटना सुनाएका थिए। एकजना पीडित बालिकाले केही दिन अगाडि नै विद्यालयका शिक्षिका रञ्जु सिंहलाई उनको हर्कतका बारेमा सुनाएका थिइन् । शिक्षिका रञ्जु सिंहले घटना थाहा पाएपछि प्रधानाध्यापक ब्रह्मदेव सिंहलाई सुनाइन् । प्रधानाध्यापक सिंहले शिक्षक हरि श्रेष्ठसँग तपाईंको बारेमा यस्तो गुनासो आएको के हो ? भनि सोधी खोजीसमेत गरेका थिए। 

घटना सार्वजनिक भएपछि शिक्षक श्रेष्ठ पीडित बालिकाको घरमै पुगेर आफूले बदनियतपूर्वक केही गरेको होइन्, यस विषयलाई धेरै अगाडी नबढाउन भन्दै माफीसमेत मागेको खुलेको छ ।

यता, बालिकाहरूका अभिभावकले भने आफ्नी छोरीहरू माथि यौन दुर्व्यवहार शिक्षक श्रेष्ठलाई कानुनी कारबाही अगाडी बढाउन विद्यालयसँग माग गरेका छन्। प्रधानाध्यापक लगायत शिक्षक र केही व्यक्तिहरूले घटना सामसुम पार्ने प्रयास गरिरहेको जानकारी पाएपछि आक्रोशित स्थानीयहरूले विद्यालयको प्रशासनिक भवनमा तोडफोड गरेका छन्। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई बदनाम गर्न केही शिक्षक र व्यक्तिहरू सक्रिय रहेको भन्दै उनीहरूले नै नियोजित रूपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरू र बाहिरकै व्यक्तिहरू विद्यालयलाई धराशायी बनाउने योजनामा छन्, उनीहरूकै ग्रयान्ड डिजाइनमा नियोजित घटना बनाएको हो।’

घटना सार्वजनिक भएपछि शिक्षक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update