Harsamaya
विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ
रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भई हाल काठमाडौं-६ बस्ने ३२ वर्षीय फिन्चु लामा ।

काठमाडौं - लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भई हाल काठमाडौं-६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्। रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। लामालाई काठमाडौं-१० बाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

लामाले ४५ जना युवा युवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।

लामालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

लामाले नयाँ बानेश्वरमा इन्स्युर डेस्टिनी इन्टरनेसनल नामक कन्सल्टेन्सी चलाउने गरेका थिए। लामाविरूद्ध हाल ४५ जनाले उजुरी दिएका छन्। यो संख्या थपिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update