Harsamaya
लायन्स क्लबहरूको साताव्यापी अभियान नुवाकोटमा सुरु, सरसफाइदेखि स्वास्थ्य सेवासम्म
नुवाकोटमा रहेका ६ वटा लायन्स क्लबहरूले लायन्स वर्ष २०२५/०२६ को शुभारम्भ अवसरमा साताव्यापी सामाजिक सेवा अभियान थाले ।

नुवाकोट - लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई अन्तर्गत नुवाकोटमा रहेका ६ वटा लायन्स क्लबहरूले लायन्स वर्ष २०२५/०२६ को शुभारम्भ अवसरमा साताव्यापी सामाजिक सेवा अभियान थालेका छन्।

लायन्स क्लब अफ नुवाकोट इन्द्रायणी, क्यापिटल, आदर्श, बाराही, सम्पदा र बट्टारको संयुक्त आयोजनामा सामाजिक क्रियाकलापहरू भव्य रूपमा अगाडि बढाइएका छन्। अभियानको तेस्रो दिन इन्द्रायणीचौरस्थित इन्द्रायणी मन्दिर परिसर तथा आसपासका बाटोहरूमा सरसफाई कार्यक्रम गरियो, जसमा स्थानीय उद्योग इन्द्रायणी ग्याबियन बक्स प्रा.लि र अस्थायी प्रहरी चौकी सिमुटारको सहकार्य उल्लेखनीय रह्यो।

यसअघि वर्षको पहिलो दिन बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका छात्रछात्राहरूलाई आकस्मिक स्वास्थ्य सेवाका लागि आवश्यक सामग्री—खाट, डस्ना र सिरानी— हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो। दोस्रो दिन हावाघर क्षेत्रमा सरसफाइ अभियानले निरन्तरता पायो।

कार्यक्रमबारे जानकारी दिँदै लायन्स क्लब अफ नुवाकोट इन्द्रायणीका अध्यक्ष संजीव थपलियाले समुदायको हितमा सेवा गर्नु क्लबहरूको मुख्य उद्देश्य भएको बताए। जोन चेयरपर्सन केशव मिश्रका अनुसार, लायन्स संस्था हरेक वर्षको जुलाई महिनालाई सेवा वर्षको सुरुवातका रूपमा मनाउँदै आइरहेको छ।

यस किसिमका अभियानहरूले समुदायमा सरसफाइ, स्वास्थ्य र सेवा–भावनाको चेतना फैलाउने विश्वास क्लबहरूले लिएका छन्।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update