Harsamaya

काठमाडौं - जहाँ संसारले पीडितहरूको चिच्याहटलाई सुनेर पनि चुपचाप आँखा चिम्लन्छ, त्यहीँ एक महिलाले ती चिच्याहटहरू सुन्ने साहस गरेकी छन् । उनको नाम हो–गीता केसी दर्नाल, जसले बलात्कार, यौन हिंसामा परेका बालिकाहरूलाई फेरि बाँच्न सिकाइरहेकी छन् । उनीहरू बस्ने गरेको सहरको एउटा कुनामा रहेको सानो घर केवल आश्रय होइन, त्यो घर हो, आशा, प्रेम र पुनर्जन्मको घर । जहाँ गीताले ती बालिकाहरूलाई आमा बनेर हुर्काइरहेकी छिन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको यो आश्रय स्थल अर्थात् साझा सहयात्री नेपालमा बसिरहेका प्रत्येक बालिकाको आफ्नै कथाहरू छन् । रुवाइ, घाउ र पीडाले भरिएका छन् उनीहरूको कथा  । १६ जना बालिकाहरूको उद्धार गरेर आमाको भूमिका निर्वाह गरिरहेकी गीता हरेक बालिकाहरूका लागि आश्रय हुन् । पीडामा डुबेका ती बालिकाहरूको गीता एक सच्चा अभिभावकका रूपमा सङ्घर्ष गरिरहेकी छिन् ।

उनी बालिकाहरूलाई खाना, लुगाफाटा, विद्यालय, उपचार र सबैभन्दा महत्त्वपूर्ण माया र आत्मसम्मान दिन्छिन् । बालिकाहरू उनलाई ‘आमा’ भन्छन् र त्यो शब्द गीताका लागि अब अझै अगाडि बढ्ने प्रेरणा बनेको छ । गीताकै लालन पालन र रेखदेखपछि ती बालिकाहरू कक्षामा जान सक्षम भएका छन् ।  उनीहरूको अनुहारमा चमक र सपना छ । जीवनमा केही गरेर देखाउने अठोट छ । आश्रय घरमा बसेर उनीहरू आफूलाई पीडित भन्न पनि रुचाउन छाडेका छन् ।

एक पाँच वर्षीया बालिकाको भयानक घटना आफ्नै आँखा अगाडि देखेपछि उनीहरूको सुरक्षाको लागि काम गर्न भनेर गीताले ‘साझा सहयात्री नेपाल’ नामक संस्था खोलेकी हुन् । एक जनाको पीडा भुलाउन संस्था स्थापना गरेकी गीताले आजका दिनमा १६ बालिकालाई सहारा दिइरहेकी छिन् । १६ जनाको आमा  बनेकी छिन् उनी ।  

संस्था खुलेपछि सुरुमा ९ जना बच्चाहरू मात्र थिए ।  तर अहिले त्यो सङ्ख्या १६ पुगेको छ । उनले भनिन्, ‘कोभिडको समयमा यौन हिंसाको घटना जताततै सुनिन्थ्यो । सोही बेला रुपन्देही तिलोत्तमा–८ मा पाँच वर्षीया नानीमाथि उनकै बुबाका साथीले  बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । ती नानीलाई उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा ल्याइएको थियो । म त्यो नानीलाई भेट्न गएको थिएँ । केही आर्थिक सहयोगको साथमा लिएर भेटेको थिए । ती नानीको अवस्था हेरेर मैँले आफूलाई थाम्न र सम्हाल्न सकिन् । जिउभरि निलो डाम र घाउ देखेर धेरै पीडा भएको थियो । पाँच वर्षकै उमेरमा नानीको पाठेघर नै निकाल्नु परेको थियो । उक्त घटनाले मलाई मानसिक रूपमा नै विक्षिप्त बनायो । त्यसपछि मैले यस्ता घटनाहरूबाट प्रताडित बालिकाहरूका बारेमा अध्ययन गरेँ र नयाँ अभियान सुरु गरेकी हुँ । ५ वर्षदेखि १८ वर्षभन्दा मुनिका बालिकाहरू बढी पीडित भएको पाएँ । त्यसपछि यो उमेर समूहका बालिकाहरूको लागि केही गर्नुपर्छ भनेर ‘साझा सहयात्री नेपाल’ भन्ने संस्था खोलेर काम सुरु गरेको हुँ ।’

उनले उद्धार गरेकी बालिकाहरूले आफ्नै बुवा, काका र छिमेकीहरूबाट अमानवीय दुर्व्यवहार भोग्नुपरेको थियो । यस्तो घटनाहरूले उनीहरूलाई मनको साथै मानसिकता पनि गहिरो छाप छोडेको छ । गीता हरेक दिन सूर्योदय हुनुभन्दा अगाडि उठेर आफ्ना छोरीहरूको लागि नास्ता तयार गर्छिन् । बच्चाहरूलाई स्कुल लैजान्छिन्, गृहकार्यमा मद्दत गर्छिन्, सपना देख्न सिकाउँछिन् । धेरै जना धेरै कुराको लागि लड्ने संसारमा, गीताले आफूसँग भएको सबै थोक समर्पण नै गरेकी छिन् ।

मानिसहरूले उनलाई सोध्छन्, ‘तपाईँ यो सबै किन गर्नुहुन्छ ?’ उनी केवल मुस्कुराउँछिन् र भन्छिन्, ‘किनभने हरेक बच्चा बाँच्ने र माया पाउने मौकाको हकदार छन् । त्यसका लागि हरेक मानवले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’

उनले भनिन्, ‘यहाँ भएका नानीहरू एउटा भयानक घटनाबाट गुज्रिएर आएका छन् । स–साना नानीहरूलाई धेरै याद नहुन सक्छ । तर १२–१४ वर्ष उमेरकाले के भयो भन्ने कुरा बुझेका हुन्छन् । योभन्दा पनि आफ्नै बुबाबाट जो पीडित हुनु भएको छ ती नानीहरूको पीडा हामीले कल्पना पनि गर्न सक्दैनौ । र उनीहरूलाई त्यो अवस्थाबाट बाहिर कसरी निकाल्ने भन्ने नै मेरो लागि सबैभन्दा ठुलो चुनौती बनेको थियो ।’

यीनै मध्य आफ्नै बुबाबाट बलात्कृत एक बालिका रितु स्याङ्तान(नाम परिवर्तन) भन्छिन्,‘पीडादायी सम्झनाहरू सम्झन पनि मन लाग्दैन । सम्झिदा रुन मात्र मन लाग्छ ।’ बर्दिबासकी १५ वर्षीया रितु गाउँमै बसेर पढ्न पनि सहयोग हुन्छ भनेर इटाभट्टामा आमासँगै काम गर्न भनेर गएकी थिइन् । तर उसको त्यो निर्णय जीवनभरको लागि पीडा दिने निर्णय बन्यो । सोही इटाभट्टामा काम गर्ने क्रममा उनी १३ वर्षको उमेरमा आफ्नै बुबाबाट बलात्कृत हुनु परेको पीडा सुनाउँछिन् ।

कोही बाबु यति कठोर मनको हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैनन् । जुन हातले त्यो छोरीलाई हुर्काएको थियो त्यही हातले त्यस्तो कु–कर्म सोच्न पनि सकिँदैन। उनले भनिन्, ‘बुवा मेरो लागि मरेको ठानेको छु । अब म त्यो ठाउँमा फेरि फर्किन चाहन्न ।’ उनी चुपचाप बताउँछिन्, विगतभन्दा बढी निको भएर अघि बढ्न चाहन्छु ।

साथै, उद्धार गरेको बच्चाहरू मध्ये दुई जना तीन वर्षका बालिकाहरू छन्, जो यति साना छन् कि उनीहरूले आफूमाथि भएका अत्याचार के हो भन्ने बुझ्न समेत सक्दैनन् । उनीहरूको जीवन बच्चै हुँदा नै भत्काइएको छ । उनीहरूको बाल्यकाल खोसिएको छ । गीता यी बच्चाहरूको कुरा गर्दा मन भारी बनाउँदै भन्छिन्, ‘उनीहरूले जे भएको हो, बुझ्न समेत पाएका छैनन् ।’ यी सबैभन्दा साना बाँच्नेहरूलाई प्रेम दिने, निको पार्ने र आशाले भरिएको भविष्य दिन गीता दृढ सङ्कल्प भएर लागेकी छन् ।

यस्तो संवेदनशील विषयमा राज्यको निष्क्रियताप्रति आफ्नो असन्तुष्टि पनि व्यक्त गर्छिन् । उनी भन्छिन्,‘दुर्व्यवहार र बलात्कार भएका केटीहरूका लागि सरकारले निकै कम मात्रामा सहयोग गरेको छ । त्यसैले मैँले आफैँले नै उनीहरूको मद्दत गर्न थालेकी हुँ । यस्तो कार्यको लागि राजनीतिक पहुँच पनि आवश्यक हुने रहेछ । त्यस्तो पहुँचको अभावले गर्दा पनि सरकारले पीडामा ध्यान दिएको छैन ।’

‘समाजमा बसिसकेपछि, शिक्षित नागरिक भइसकेपछि मेरो पनि केही दायित्व हुन्छ भनेर पीडामा परेका छोरीहरूको लागि केही गर्ने सोचेको हो । तर यस्तो काममा सबैभन्दा ठुलो सहयोग र दायित्व भनेको सरकारको हुनुपर्ने हो । सरकारले यस्तो मुद्दामा नेतृत्व गर्ने हो । र त्यसमा हामी जस्ता नागरिकहरूले साथ दिने हो । सरकारले यस्तो खालको पीडित छोरीहरूको लागि दिगो हुने गरी पुनर्स्थापना केन्द्र खोल्नुपर्छ,’ उनले  सुझाव दिँदै भनिन् ।

उनी थप्छिन्, ‘राजनीति भन्दा माथि उठेर, देशका बालबालिका र महिलाहरूको जीवन जोगाउनु सबैको जिम्मेवारी हो ।’ उनको यो आवाजले धेरैलाई प्रोत्साहित गरेको छ र हरेक दिन सरकारको ध्यानाकर्षण गराउन प्रयासरत छिन् । ताकि पीडितहरूले न्याय र संरक्षण पाउन सकुन् ।

गीताको काम केवल उद्धारमा सीमित छैन, उनी परिवार र समुदायभित्र रहेको हिंसाको चक्र तोड्न निरन्तर लडाइँमा छिन् । आगामी दिनहरूमा, गीता एक समग्र सहायता केन्द्र स्थापना गर्ने योजना बनाइरहेकी छिन् । जसले आश्रय र शिक्षासँगै मानसिक स्वास्थ्य परामर्श र समुदायमा जागरूकता कार्यक्रमहरूमा पनि जोड दिनेछ ।

उनले २०७८ पुष ६ गते साझा सहयात्री नेपाल नाम गरेको संस्था दर्ता गरे पनि कानुनी रूपमा सबै कागजातहरू मिलाएर औपचारिक रूपमा २०७९ वैशाखदेखि सेवा सुरु गरेकी हुन् ।

आफ्नो सबै शक्ति र दृढ सङ्कल्पका बाबजुद पनि, गीता केसी एक्लैले यो गर्न सक्दिनन् । उद्धार गरिएका प्रत्येक बच्चाले आनन्द ल्याउँछ तर जिम्मेवारी पनि सँगै आउँछ । खाना, लुगा, विद्यालयको शुल्क, चिकित्सा हेरचाह, भावनात्मक उपचारको व्यवस्थापन गर्न सजिलो छैन ।

गीताले यी बच्चाहरूको हेरचाहमा आफ्नो हृदय, समय र बचत खन्याइरहेकी छिन् । तर अब, उनी बिस्तारै आवाज उठाउँदै छिन गुनासो गर्न होइन, संसारलाई आफ्नो साथमा उभिन आग्रह गर्न ।

उनी भन्छिन्, ‘म सक्दो प्रयास गर्दैछु। आँखा आशा र थकानले भरिएका छन्, तर मलाई थप हातहरू र थप साथ चाहिएको छ । नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायका केही संस्थाबाट सहयोग आउने हो भने यी छोरीहरूको भविष्य अझ राम्रो बनाउन सकिन्छ ।’ उनी उचित घरको सपना देख्छिन् । जहाँ पर्याप्त ओछ्यान, सिकाइ केन्द्र, भोका पेट र घाइते आत्माहरूलाई खुवाउन सक्ने भान्छा होस ।

उनी भन्छिन्, ‘यदि तपाईँसँग मद्दत गर्ने शक्ति छ भने, कृपया गर्नुहोस् । मेरो लागि होइन तर पहिले नै धेरै पीडा भोगेका बच्चाहरूको लागि ।’ गीताले लाखौँ मागिरहेकी छैनन्, उनी करुणा मागिरहेकी छिन्, ती बालिकाहरूको भविष्यको लागि । गीताका अनुसार हाल उक्त आश्रय केन्द्रलाई मासिक एक लाख रुपैयाँ बढी खर्च भइरहेको छ । उक्त खर्च उनी आफैँले र केही मनकारी व्यक्तिहरूले मात्र पर्याप्त भएको छैन । अझै उदार मन भएका व्यक्ति र संस्थाहरूको सहयोग आवश्यक रहेको उनी बताउँछिन् ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update