Harsamaya
विपद्को समयमा निजी हेलिकप्टरको निःशुल्क प्रयोगबारे सम्झौता
विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं - विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त, समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्धार गर्न वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने जानकारी दिए । 

त्यस्तै, उनका अनुसार काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनुपर्ने र अपरेसन शुल्क मात्र लिएर उद्धार गरिने पनि सम्झौता पत्रमा उल्लेख छ । 

उनले भने,‘काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भयो र नागरिकको उद्धार गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने कुरा जुन गर्नुभएको छ । यो अत्यन्त महत्त्वपूर्ण काम भएको छ । देशको सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा नै छ । काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर कहिलेकहीँ अपर्याप्त हुन सक्छ । त्यस्तो बेला सरकारले उपत्यका बाहिर पनि सेवा लिनुपर्ने अवस्था हुन्छ । त्यसलाई पनि संघले अपरेसन शुल्क मात्र लिएर उद्धार गरिने भन्नुभएको छ ।’ 

उनले अहिले मनसुनको प्रारम्भ चरणमा भएको र मनसुनजन्य विपद्ले धेरै ठुलो जनधनको क्षति हुने अवस्थामा सो सम्झौताले महत्त्वपूर्ण सहयोग पुग्ने बताए  । विगतको अनुभव हेर्दा धेरै ठुलो क्षतिबाट नागरिकको र सम्पत्तिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ । 

उनले भने,यो हस्ताक्षरसँगै हामीले एउटा राम्रो कामको थालनी गरेको छौँ । हामीले विपद्को अत्यन्तै जोखिम भएको भूगोलमा छौँ । अहिले त्यसै पनि मनसुनको प्रारम्भ चरणमा छौँ । मनसुनजन्य विपद्ले धेरै ठुलो जनधनको क्षति हुने गरेको छ । विगतको अनुभवले पनि के देखाएको छ भने धेरै ठुलो क्षतिबाट नागरिकको सम्पत्तिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्छ ।’ 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update