
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्य विरुद्धको कसुर भएको भन्दै छानबिनको माग गरेका छन् ।
मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानुन र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानबिनको माग गरेका हुन् ।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानबिन होस् । नेपालको कानुन बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन । यो त राज्य अपराध हो । संसद बनाएका छौ, समितिहरू बनाएका छौँ । ती समितिका संसदहरुको महत्वलाई नै छेडखानी गर्ने राज्य विरुद्ध कसुर नै हो ।’
उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । छानबिन गरी दोषी भए कारबाही गर्नुपर्छ । यही सभापतिले नगरी कर्मचारीले यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुर लगाएर अपराध गर्नेहरुलाई जेल सजाय हुनुपर्छ,’ उनले भने ।