सिराहा - अर्नमा गाउँपालिका - १ बुढियाचाप गाउँमा एक दलित युवाको शव फेला परेको छ । मृतक स्थानीय ३४ वर्षीय अजय महरा हुन् ।
घरबाट करिब एक किलोमिटरको दूरीमा मुनिफ अली मन्सुरीको धानखेत नजिक महराको शव फेला परेको हो । मन्सुरीले खेतमा बाली कुर्न बनाएको मचान छेउमा शव फेला परेको हो ।
स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्र पासवानका अनुसार सूचना पाउनासाथ घटनास्थलमा गएर अनुसन्धान थालिएको छ ।
मृतक महराको शवमा घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको घटनास्थलमा देखिएको छ । शवको छेउमा रक्सीको बोतल र गिलास पनि फेला परेको छ । मृतकको शव पोष्टमार्टमका लागि सिराहा प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
स्थानीयले बताए अनुसार शुक्रबार राति अबेरसम्म मृतक महरा घरमै थिए । बिहान एक्कासि उनको शव भेटियो । उनी शुक्रबार राति ९ बजे पत्नीलाई भनेर घरबाट निस्किएका थिए ।
प्रहरीले घटना शंकास्पद भएपनि कुनै सुराक फेला नपरेको जनाएको छ । मृतक महराका दुई छोरा र एक पत्नी छन् । उनी मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।

