काठमाडौं - नेकपा माओवाद (केन्द्र)का नेता माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा भएको बालिका बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
शनिबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई नियन्त्रण लिन सफल भएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहित नेपाल प्रहरीलाई आभार व्यक्त गर्दै यो घटनालाई गम्भिरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरेका हुन् ।
उनले भने, ‘बालिका बलात्कारको घटनामात्र होइन समाजमा कस्तो प्रकारको आपराधिक मानसिकता छ भन्ने कुरा देखिन गएको छ । यसलाई निकै गम्भीरतापूर्वक लिन जरुरी छ । दोषीलाई अधिकतम प्रकारको कारबाही गर्ने र पीडित परिवारलाई शीघ्र राहत र न्यायिक सहायता एवम् मनोवैज्ञानिक परामर्शकालागि वातावरण बनाउने र यस्ता घटनाहरू पुनरावृत्ति हुन नदिनको लागि प्रभावकारी उपाय अपनाउन अनुरोध छ ।’
उनले थप भने,‘यो घटनाले हामीलाई पीडादायी अवस्था सिर्जना गराएको छ । क्षेदीखोलाबाट प्रहरीले सुझबुझ तरिकाबाट शव फेला पार्यो । त्यसपछि गम्भीर अनुसन्धान गरी घटनामा संलग्न ५ जना अपराधीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया जारी राखेको छ ।’
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाकी १२ वर्षीय निशा तामाङ्ग ७ कक्षामा पढ्ने अबोध बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर फ्याँकिएको अवस्थामा गत ११ गते शव फेला परेको थियो ।

