
मेलम्ची - उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगर समितिको अगुवाइमा मेलम्ची नगरपालिकाको टोलीले नगरका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ। दुई दिनसम्म चलेको अनुगमनमा नगरपालिकाका वडा नं. ६, ११ र १२ का खाद्यान्न पसल, होटल, मेडिकल, भेटेनरी, बेकरी, मिठाई पसल लगायतका व्यवसायहरूमा निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा सरसफाइ नगरेको, नवीकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए । उनका अनुसार नियम विपरीत व्यवसाय सञ्चालन गरेकाले पसललाई सिल गरेर दण्ड-जरिबानासमेत गरिएको छ।
त्यस्तै, अनुगमनकै क्रममा म्याद सकिएका करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको पनि दुलालले बताए ।
बजार अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च, मेलम्ची नगरपालिका, जनप्रतिनिधि, मेलम्ची नगर उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल प्रहरी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।
यसअघि मञ्चले जेठ ५ गते सिन्धु भ्याली र ७ गते मेलम्चीमा स्थानीय उपभोक्ता, व्यवसायी र जनप्रतिनिधिलाई समेटेर उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो। मञ्चका अध्यक्ष शालिकराम अधिकारीले उपभोक्ताले उपभोग गर्ने वस्तु र सेवाप्रति विशेष सावधानी अपनाउन आग्रह गर्दै उपभोक्ता सचेतना कार्यक्रमहरू निरन्तर चलाइरहेको जानकारी दिए ।