सप्तरी - सप्तरीको रुपनी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो १ बजे हात्तीको आक्रमणबाट रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए । सोही क्रममा आएको हात्तीले उनीमाथि आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट बच्न उनका छोरा अर्जुन भने भाग्न सफल भएका छन् ।
एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीमै हात्ती आउन थालेपछि स्थानीयले ज्यान जोगाउन सतर्कता अपनाउँदै आएका छन् ।
यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सप्तरीकै सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो । पछिल्लो घटनासँगै सप्तरीमा हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

