
काठमाडौं - आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध आज काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले प्रदर्शन गरेका छन् ।
सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा र पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उच्च कर हटाउ, व्यापार बचाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै सरकारको निर्णयको विरोध जनाएका हुन् ।
सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सरकारसँग वार्ता गरी सुनचाँदीमाथिको ‘विलासी कर’ हटाउन माग गरेको छ । उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर तिनमा १३ प्रतिशतसम्मको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको थियो । यही निर्णयको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका हुन् ।