Harsamaya
अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैनन् : दिपक बहादुर सिंह
पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंह ।

काठमाडौं - पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले यस वर्षको बजेटमा युवा शक्तिहरूलाई देशमा रोक्ने र कलकारखानाहरू खोल्ने उद्देश्य नराखेको बताएका छन् ।

संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरू आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए ।

‘हाम्रो उद्देश्य के हुन्छ भने मेरो चुनाव क्षेत्रमा कसरी योजना धेरै पार्ने र साढे २ वर्षपछि फेरी कसरी आउने भन्ने बाहेक हामीमा केही छैन । बजेट आएको छ यसमा त्यो उद्देश्य छैन कसरी हामीले युवा शक्तिहरूलाई देशमा रोक्ने, नयाँ नयाँ कलकारखानाहरू खोल्ने भन्ने यो बजेटले कतै पनि देखाएको छैन । आज भएको उद्योग पनि बन्द हुने अवस्था छ ।’

उनले नदी तटबन्धमा प्रयोग गरिने जालीहरूमा १० प्रतिशत भन्सार बढाउनु न्यायोचित नभएको बताए । यसै गरी कार्यक्रममा बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले संसदीय निगरानी अनुगमन, प्रस्तुतिहरू परम्परा धान्नका लागि मात्र गर्ने गरेको बताए ।

‘हाम्रा प्रस्तुतिहरू प्रस्तुतिका लागि प्रस्तुति, अनुगमन पनि अनुगमनका लागि अनुगमन, हाम्रो लोकतन्त्र चुनावदेखि चुनावसम्म भएको छ यो ठाउँबाट हामी अगाडि बढ्ने बेला भयो कि भएन । अनुगमन भइरहेकाको नतिजा के आयो भन्ने कोणबाट बहस गर्ने थाल्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update