
काठमाडौँ - जनतालाई फेरि इन्धन मूल्यवृद्धिको झट्का लागेको छ। नेपाल आयल निगमले सोमबार (असार २) देखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको हो।
यस निर्णयसँगै अब काठमाडौँ, पोखरा र दीपायल क्षेत्रमा पेट्रोल रु १६०, डिजेल र मट्टितेल रु १४५ प्रतिलिटर पर्नेछ।
मूल्य समायोजनको कारण इण्डियन आयल कर्पोरेशनबाट २०८२ असार १ गते (१५ जुन २०२५) प्राप्त नयाँ खरिद दर हो। नयाँ दर अनुसार निगमलाई प्रति लिटर पेट्रोलमा रु १.४१ र डिजेलमा रु १.६७ महँगो परेको जनाएको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार घाटा न्युनिकरण गर्न मूल्य समायोजन गरिएको हो। तर, उपभोक्ताले भने दैनिक जीवनमा यसले थप आर्थिक चाप पार्ने भन्दै असन्तुष्टि जनाएका छन्।
विशेषज्ञहरूका अनुसार इन्धनको मूल्यवृद्धिले सार्वजनिक यातायात, निर्माण सामग्री, खाद्यान्न र सेवा क्षेत्रका अन्य वस्तुहरूमा पनि मूल्य वृद्धि हुने सम्भावना प्रवल छ।