काठमाडौं - सभामुख देवराज घिमिरेले शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपालमा निर्वाचन प्रणाली तुलनात्मक अध्ययन पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले निर्वाचन पद्दती र प्रणालीहरुको बारेमा विवेचना हुन जरुरी रहेको बताए ।
उनले भने,‘हामीले के गर्यो भने शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौं । जनमुखी बनाउन सक्छौं । यो शासन प्रणालीमा आएका समस्याहरु हुन् कि निर्वाचन प्रणालीका दोषहरु हुन् । यसलाई प्रयोग गर्ने राजनीतिक दलहरु र पार्टीहरुको भूमिकामा समस्या हो कि भन्ने जस्ता धेरै वहसहरु चलिरहेका बेला खासगरी निर्वाचन पद्दती र प्रणालीहरुको बारेमा अलि बढि विवेचना हुन जरुरी छ ।’
त्यस्तै उनले वर्तमान समयमा निर्वाचन प्रणालीमा वहस र छलफल गर्न सान्दर्भिक हुने बताए । संविधान बनाउँदा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय परिस्थिति र देशको वस्तुगत अवस्थालाई आधार बनाइ अनुभवहरु प्राप्त गरेको बताए । संविधानको संशोधन गर्ने आवधिक समय पनि भएको भन्दै उनले अनुभवहरुलाई कार्यान्वयन गर्दै संशोधन गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘हाम्रो निर्वाचन प्रणालीमा वहस र छलफल गर्न सान्र्दभिक हुन्छ जस्तो लाग्छ ।संविधानको संशोधनको कुरा चलिरहेका बेला संविधान बनाउँदा बखत राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र देशको वस्तुगत अवस्थाका आधारमा आफ्नै खालका पद्दती र निर्वाचन प्रणाली अपनाएका छौं । केही अनुभवहरु प्राप्त भएका छन् । यी अनुभवहरुलाई कार्यान्वयन गर्दै संविधानको संशोधन गर्ने आवधिक समय आइसकेको छ । अनुभवले पनि देखाएको छ । अब निर्वाचन प्रणालीका बारेमा सुधारको वहस अगाडि बढाउन जरुरी छ ।’
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले निर्वाचनको समयमा समानुपातिकको सिट किनबेच भइरहेको बताइन् ।
समानुपातिकको सिट किनबेचलाई रोक्नको लागि निर्वाचनको समयमा हुने ठगीको अनुसन्धान गरी कारबाही गर्नुपर्ने धारणा राखिन् ।
उनले भनिन्,‘खुलेआम ५-६ करोड निर्वाचनमा खर्च गरें भन्नेहरुलाई पनि कारबाही भइरहेको छैन् । यसमा कडाई हुन पर्यो । समानुपातिकको सिट किनबेच भइरहेको छ । यसलाई रोक्नको लागि निर्वाचनको समयको अनुसन्धान गर्नुपर्छ ।’