Harsamaya
घरेलु मदिरामा कर लगाएर शिक्षा क्षेत्रमा खर्च गरौं : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ ।

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले सरकारले शिक्षकसँग गरेको सम्झौता पुरा गर्नुपर्ने बताएका छन् । 

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षकसँग गरेका वाचा पुरा गर्नुपर्ने बताए ।

उनले भने ‘पुरा गर्न नसक्ने सम्झौता गर्नु हुँदैन,त्यसैले सरकारले शिक्षकसँग गरेको वाचा पुरा गर्नुपर्छ ।’ त्यहीँ सम्झौता अनुसार असार १५ भित्रै शिक्षा विधेयक आउने गरि काम भइरहेको भन्दै शिक्षकहरूलाई ढुक्क हुन आग्रह गरे । 

आर्थिक अवस्थाका कारण शिक्षकहरूका माग पुरा गर्न गाह्रो हुन्छ भन्ने बेलाबेलामा अनौपचारिक सुन्ने गरेको प्रसङ्ग जोड्दै सरकार सम्झौताबाट पछि हट्न नहुने बताए ।

उनले भने ‘शिक्षकहरूका माग पुरा गर्न देशको अर्थतन्त्रले भ्याउँदैन भन्ने पनि बेला बेलामा सुन्ने गरेको छु । अर्थ छैन भनेर सरकार खुम्चिएर बस्ने होइन,अर्थ बनाउन लाग्नुपर्छ ।’ 

अर्थतन्त्र उकास्न आफूले आफ्नो मन्त्री परिषदको पालामा गरेको काम र संसदमा पटक पटक उठाउने गरेको कुराको स्मरण गराउँदै करको दायरामा नआएको घरेलु मदिरालाई करको दायरामा ल्याएर शिक्षा क्षेत्रमा खर्च गर्न सकिने बताए ।

उनले भने, ‘घरेलु मदिरा अहिले पनि प्रयोग भइरहेको छ, त्यहीँ मदिरालाई करको दायरामा ल्याउ र त्यसबाट उठ्ने राजस्व शिक्षा क्षेत्रमा खर्च गरौं । यत्ति गर्न सके घरेलु मदिरा पनि व्यवस्थित हुने र शिक्षा क्षेत्रमा खर्च गर्ने पैसा छैन भन्न पनि नपर्ने ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update