
तेहरान — इजरायलले शुक्रबार बिहान इरानका आणविक प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेको छ । आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि राजधानी तेहरान लगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त आक्रमण ‘इरानको आणविक कार्यक्रमको केन्द्रमै प्रहार’ भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले हालै २० वर्षपछि पहिलो पटक इरानलाई आणविक अप्रसार सन्धिको उल्लङ्घन गरेको भन्दै चेतावनी दिएको थियो । यद्यपि, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको जिकिर गर्दै आएको छ ।
बिबिसीका अनुसार, तेहरानको विमानस्थल बन्द गरिएको छ भने इजरायलले आपत्काल घोषणा गरेको छ । अमेरिकाले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।