Harsamaya
एमालेमा पार्टी अध्यक्षको विकल्प खोज्न केपी शर्मा ओलीले मात्र सक्छन् : पूर्ण बस्नेत
जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत ।

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा एमालेमा पार्टी अध्यक्षको विकल्प खोज्न केपी शर्मा ओलीले मात्र सक्ने बताएका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने भनी गरिएको प्रचारबाजी हास्यास्पद भएको तर्क गरेका छन् ।

बस्नेतले भनेका छन्,‘नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो लोकप्रियताको ग्राफ चेक गरेका छन् । पछिल्लो समय पार्टीभित्र र सिङ्गो मुलुकमै आफ्नो नेगेटिभ क्रेजप्रति उनी राम्रोसँग जानकार छन् । यस अर्थमा उनले वर्तमान अवस्थामा आफ्नो विकल्प खोज्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेको र सबैभन्दा उपयुक्त पात्रका रूपमा पूर्व राष्ट्रपति भण्डारीलाई रोजेको देखिन्छ ।’

उनले थपे, ‘तर यही कुरा उनले बडो चलाखीपूर्ण र घुमाउरो तरिकाले पुरा गर्न खोज्दै छन् । कतिपयले विद्या भण्डारीले एमालेका अध्यक्ष ओलीलाई चुनौती दिन खोजेको रूपमा अर्थ लगाएका छन् भने स्वयं भण्डारी र ओलीका कतिपय अभिव्यक्तिले पनि त्यसलाई पुष्टि गर्न खोजेको भान हुन्छ । तर यथार्थ त्यसो हैन ।’

भण्डारीले ओलीलाई चुनौती दिन लागेको भन्ने मिडियाबाजी हास्यास्पद रहेको उनले बताए ।  ‘एमालेमा अध्यक्ष  ओलीको विकल्प स्वयं केपी ओलीले मात्र खोज्न सक्छन् । विद्या भण्डारीले केपी ओलीलाई चुनौती दिन लागेको भन्ने नाटक, रोइलो र मिडियाबाजी कम हास्यास्पद छैन,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update