म पहिलादेखि नै नारीलाई सम्मान गर्नुपर्छ भन्ने सोचमा थिएँ । जुन घरमा नारी खुसी हुन्छिन् त्यो घर उज्यालो हुन्छ भन्ने संस्कारमा हुर्केकाले अन्याय वा अत्याचार र बलात्कारको ठूलो विरोधी थिएँ । मैंले धेरैजासो महिलावादी सिनेमाहरू नै गरिरहेको हुन्छु ।समाजमा नारी–पुरुष बराबर भनिएपनि नारीहरू पीडित भइराखेको पाउछौं ।
जब मैंले निर्मला पन्तको घटना सुनें त्यसपछि निरन्तर त्यससँग सम्बन्धित समाचारहरू फलो गर्न थालेँ । एकदमै रहस्यमय ढंगले बच्चाको बलात्कार भएको छ । आन्दोलनहरू भइरहेको छ । राज्यलाई नै अप्ठ्यारो पर्ने अवस्था हुँदाखेरिसम्म राज्यले अपराधी पत्ता लगाउन सक्दैन भने रहस्य के रहेछ भनेर जान्न मन लाग्यो । मैले सिनेमा बनाउँछु भनेर सोचेको थिइन् । तर म केही न केही लेखिरहेको थिएँ । एकदिन म स्टूडियोमा बसेर राति अबेरसम्म काम गरिरहेको थिए, भिडियो हेरिरहेको थिएँ । त्यहाँ फरक फरक धारणाहरू आइरहेका थिए । निर्मला पन्तको बलात्कारको विषयमा एउटाले राजनीतिक संरक्षण होला भन्यो भने अन्यले फरक खालका विचारहरू राखिरहेका थिए । यस विषयमा समाजले त खेती गर्ने बाटो बनाइरहेको रहेछ भन्ने लाग्यो ।
एउटा व्यक्तिको हत्या भयो त्यो आफैँमा पीडादायक छ । तर हरेक व्यक्तिले त्यही विषय कोट्याउने अनि त्यहीमाथि राजनीति गर्ने गरेको देखेर र सुनेर मन छोयो । त्यसपछि त्यही रात मेरो मनमा एउटा स्टोरी जन्मियो । यसलाई इतिहास बनाउनुपर्छ भन्ने सोच बनाएँ । त्यतिबेला मसँग निर्माताहरू पनि कोही थिएनन् । मलाई निद्रा पनि लागेन । साथीहरूलाई फोन गरेर सिनेमा बनाऔं भनेर प्रस्ताव गरेँ । हाम्रो काम जनचेतना दिनुपनि हो, समाजलाई ऐना देखाउने काम त हाम्रो पनि हो भन्ने सोचका साथ फिल्म बनाउने काम सुरु गरेका हौं ।
वास्तविक घटना भएका कारणले गर्दा परिवारलाई अन्याय हुन पनि दिनुभएन । मृतकमाथि अन्याय पनि हुनुभएन भनेर हामी अनुसन्धानको प्रक्रियामा लाग्यौं । धेरै अध्ययन–अनुसन्धान गर्यौं । महेन्द्रनगर गएर उहाँको परिवारलाई भेट्यौं । वरिपरिका मानिस एवम् अभियन्ताहरूसँग भेट्यौं । अनि बल्ल गहिराइमा पुग्यौं । त्यसपछि सिनेमा बनाउनैपर्छ भन्नेतर्फ उन्मुख भयौं । व्यवसायिक हिसाबले जति नै चुनौती भएपनि अथवा राज्यले बन्देज नै गरेपनि फिल्म जसरी पनि बनाउने भन्ने निष्कर्षमा पुगेका हौं ।
दल र अभियन्ताको मन पवित्र छैन
सबै जनाको इच्छा एउटै छ–जसले पीडा दिएको छ, जो अपराधी हो उसले सजाए पाउँनैपर्छ । घटनाको रहस्यको पर्दाफास होस् किनकी एउटा अपराधी उम्कँदै गर्दा सयौं अपराधीहरूको मनोबल बढ्छ । कुनै न कुनै दिन कानुनको हातमा फेला पर्नैपर्छ भन्ने डर पैदा हुनुपर्छ । अभियन्ता भन्नेहरू र राजनीतिप्रति एकदमै घृणा पैदा भएको छ । अभियन्ताहरूले पनि आफ्नो खेती मात्रै गरिरहेका छन् जस्तो लाग्छ । राजनीतिक दलहरूले त जुन दल सरकारमा छ त्यसको नकारात्मक कुराको प्रचार गर्न मात्रै यो विषयको प्रचार गर्ने गरेको पाएका छौं ।
दलका नेता एवम अभियन्ताहरू कोहीपनि साँच्चिकै अपराधी पत्ता लागोस् भन्नेमा छैनन् । साँच्चिकै अपराधी पत्ता लाग्दा उनीहरूलाई खेती गर्ने कन्टेन नहोला भन्ने पीर छ । त्यस्तो किसिमको सोच भएकाले पवित्र मनदेखि निर्मला केसमा जान खोजिरहेका छैनन् जस्तो लाग्छ । आफ्नो स्वार्थको रोटी सेक्ने काम मात्र भएको छ । सत्तापक्षले किन यो चाहिँ गरिरहेको छ त ? किन सत्ता पक्षले पत्ता लगाउन सकिरहेको छैन ? पक्कै पनि सत्ता पक्षकै पावरफूल मान्छेहरू घटनामा जोडिएको हुनुपर्छ । तथापि, हामीजस्ता धेरै मानिसहरूको चाहना एउटै छ– अपराधीले सजाय पाओस् । सात वर्ष भइसक्यो सानो प्रमाण पनि भेटाउन सकिएको छैन ।
फिल्म बनाउँदाका दुःख
सबैभन्दा पहिले कोपिला फिल्म बनाउने क्रममा प्रहरीसँग स्वीकृती लिन समय लाग्यो । स्क्रिप्ट पठाइसकेपछि पनि प्रहरीले स्वीकृति दिनलाई करिब दुई महिना लगायो । छायांकन गर्दा चाहिँ प्रहरीहरूको पनि साथ पाइयो । तर जब फिल्मको टे्रलर आयो तब प्रहरीले फोन गरेर तुरुन्त सम्पर्कमा आउन दबाब दियो । कामलाई छोट्याएर दुई तीन दिनपछि प्रहरीकोमा उपस्थित भएँ । टे्रलरले गर्दाखेरि उहाँहरूलाई नकारात्मक कुराहरू छन् की भनेर भ्रम परेछ ।त्यसपछि स्टुडियोमा गएर प्रहरी प्रशासनलाई फिल्म देखायौं । उहाँहरूले बधाई दिनुभयो । राम्रो रिसर्च गर्नुभएको रहेछ भनेर धन्यवाद दिनुभयो ।
महत्वपूर्ण चुनौती के भयो भने निर्मलाको परिवारले अनुमति दिने हो की होइन भन्ने विषयले सतायो । खोज पत्रकारिता गर्ने मिडियाहरूले के आधारले यो फिल्म बनाउनु भयो भनेर प्रश्नहरू तेर्साए । फिल्म रिलिज हुने बेला लकडाउन भयो । जे होला भनेर ओटीटी प्लेटफर्मबाट फिल्म रिलिज भयो । फिल्म रिलिज भइसकेपछि टेलिभिजन प्रस्तोता रवि लामिछानेले फोन गर्नुभयो । त्यो दिन एकजना डिएसपी साव रिहा हुनुभएको थियो । निर्दोष साबित भएर उहाँ रिहा हुनु भएको थियो । उहाँले पनि फोन गर्नुभयो । नकारात्मक तरिकाले क्रस प्रश्नहरू गर्नुभयो । बलिरहेको विषयमा फिल्म बनाएर पैसा कमाउन आँटेको भन्ने किसिमले प्रस्तुत हुनुभयो । एकदमै नकारात्मक तरिकाले उहाँले मलाई प्रस्तुत गराउनुभयो । त्यसपछि रवि लामिछानेको समर्थकहरूले एकदमै धेरै गालीको वर्षा हुन सुरु गरे । आलोचना हुन थालेपछि मेरो परिवारहरू झन्डै डिप्रेशनमा पुगेको थियो ।
हामी सामाजिक व्यक्ति हौं । सार्वजनिक जीवनमा आएपछि कतिपय गाली पनि सहन पर्छ । त्यसबेला लामिछानेज्यूको कार्यक्रमपछि मैले गलत नै गरेको छु जस्तो पनि महसुस भएको थियो । तर उहाँले कार्यक्रममा किन त्यो हिसाबले प्रस्तुत हुनुभयो भन्ने कुरा मलाई थाहा छैन । तर मैले सिनेमा निर्मला पन्तको हत्या कसरी भयो, कसले गर्यो भनेर बनाएको होइन् । समाजले त्यो घटनालाई कसरी राजनीतिकरण गरिरहेको छ, कसरी आ–आफ्नो रोटी सेकिरहेको छ भन्ने भावमा फिल्ममा देखाउन खोजेको थिएँ । गलत त कतै पनि गरेको थिइन् । त्यसमाथि परिवारको अनुमति कागजमै पनि लिएको छु । तर पनि त्यो समय बेकारमा फिल्म बनाएछु भन्ने महसुस भएको थियो ।
धेरै लापरवाही भएको देखिन्छ
मैले विभिन्न अभियन्ताहरूसँग कुराहरू गरें । धेरै कुरा बुझें । अवलोकन गर्दा, कुराहरू सुन्दा घटना पूर्वतयारीका साथ गरेको होइन जस्तो लाग्छ । अचानक घटना घटाइएको हो । त्यसलाई लुकाउनका लागि केही खेलहरू पक्कै भएका छन् । यसमा पुलिस प्रशासनबाट पनि केही हदसम्मको लापरबाही भएको छ । घटना जति ढिला भयो प्रमाणहरू मेटिदैं जान्छन् । विस्तारै घटना रहस्यमय बन्न पुगेको हो जस्तो लाग्छ । पूर्व योजना बनाएर गरेको हत्या भने होइन जस्तो लाग्छ ।
सिनेमा बनाउँदा धेरैवटा विषयमा अनुसन्धान गर्नेगर्छु । कानूनले प्रमाणभन्दा बढि केही पनि हेर्दैन । भर्खरै अफताप आलमको केस हेरौं न । मान्छे पोलेको देखिएन, प्रमाण भेटिएन भनेर उनले छुट पाए ।भनेपछि प्रमाण त चाहिने रहेछ । पुलिसको लापरबाहीका कारण प्रमाण मेटिसकेकाले जतिसुकै बहस वा अनुसन्धान गरेपनि अन्त्यमा देखिने गरि प्रमाण हातमा नभएपछि घट्नाको गहिराइमा पुग्न नसकेको जस्तो लाग्छ ।
फिल्म हेरेपछि बच्चाहरु रोए
यो फिल्मलाई केही स्कूलहरूमा प्रदर्शन गरें । एकजना प्रिन्सिपल सरले फेटाहरू भन्दा पनि केटीहरूलाई देखाउ भनेर लगभग चार सय जति सात कक्षादेखि १० कक्षाका बच्चाहरूलाई सिनेमा प्रदर्शन गरियो । फिल्म सकिदाखेरी ती बच्चाहरूको याद आउँछ सबैको आखाँमा आशु थियो । रोइरहेका थिए । उनीहरूमा एउटा डरत्रास थियो । हामीलाई पनि यस्तै हुने हो कि भन्ने थियो । त्यो उमेर भनेको डराउने उमेर पनि हो । तर एउटा बच्चा एकोहोरो भएर बसिरहेको थियो । सबैजना निस्किए तर उ निस्किएन । मैले देखेँ अनि प्रिन्सिपललाई खबर गरेँ । नानीमा समस्या छ, केही घटना घटेको छ । तपाईंहरूले कुरा गर्नुभन्दा पनि अभिभावकलाई भन्नुहोला भनेपछि अभिभावकसँग कुरा बुझ्दै जाँदा उनी पनि झण्डै रेपको कन्डिसनमा पुगेर बाँचेकी रहिछन् ।
जति जनाले चलचित्र हेरे उनीहरू सजक चाहिँ भएका छन् । निर्मला पन्त जस्तो नियति व्यहोरेका अरु धेरै छन् । भागीरथी भट्टहरू जस्तापनि छन् । यस्ता घटनाहरू अब कहिल्यै नहोस् । रेप भनेको एकदमै क्रुर अपराध हो । यसबाट बालबालिकाहरूलाई जोगाउन जरुरी छ । हरेक अभिभावकहरूले पनि बच्चाहरूलाई ‘ब्याड–टच’ र ‘गुड–टच’का बारेमा, कसको नियत के छ भन्ने बारेमा बच्चाहरूलाई सजक बनाउनुपर्छ । साथै समाज सभ्य हुन जरुरी छ । नारीको सम्मान गर्न आवश्यक छ ।
मान्छे मरिसकेपछि १३ दिनको काम सकेर मानिसहरू दैनिक जीवनमा फर्किन्छन् । तर उहाँ(निर्मला पन्तका परिवार)हरूले आजको मितिसम्म पनि दैनिक जीवनमा फर्किन पाएका छैनन् । न्याय पाएको भएपनि अपराधीले सजाय पायो भन्ने पनि हुन्थ्यो त्यो पनि पाएको छैन । नपाउने नै रहेछ भनेर मन बुझाउनको लागि पटक पटक उनीहरू मिडिया, मानव अधिकारकर्मीहरूबाट त्यही कुरा कोट्याएर बस्न बाध्य छन् ।
भगवानले त्यो घटनालाई बिर्सिने शक्ति दिउन् । किनभने जीवन अझै लामो छ । यस्ता घटनाहरू नहुन् । न्याय दिन ढिला गर्नु भनेको पनि न्याय नदिनु बराबर हो । बित्ने मान्छे बितेर गयो उसको बुवाआमा त्यही पीडा झेलिरहेका छन् । चाडै न्याय पाए हुन्थ्यो भन्ने त लाग्छ । तर हाम्रो काम गर्ने शैली, प्रशासनको सुस्तता, एउटा केसलाई छाडेर अर्कोतिर लाग्ने चलन छ । केसलाई फलोअप गरिदैन् । सायद निर्मलाको फाइल बन्द भइसक्यो होला ।
(निर्मला पन्तको घटनामा आधारित फिल्म ‘कोपिला’का निर्देशक शिवम अधिकारीसँग गरेको कुराकानीमा आधारित )