Harsamaya

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।

उनले भने, ‘हामीले सत्तारुढ दलको सांसद भएपनि सरकारलाई सचेत गराउने हिसाबले संसदमा प्रस्तुती राखेका हौं । यसपटकको बजेट न्यायको आधारमा, समतामूलक विकासको आधारमा, समानुपातिक आधारमा वितरण हुनुपर्छ । यसभन्दा अगाडि पहुँचको आधारमा हुने गर्दथ्यो यस पटक अन्त्य हुनुपर्छ भनेर सचेत गराएका हौं । योसँगै निर्वाचित क्षेत्रका तमाम विकासका योजनाहरु सम्पन्न गर्नुपर्ने छ ।’

उनले काभ्रेका एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा रहेको भन्दै सरकारको त्यसमा ध्यान केन्द्रित गरेका छन् । उनले भने, ‘म काठमाडौंबाट नजिकै रहेको काभ्रे क्षेत्र नम्बर २ को जनप्रतिनिधि हुँ । काभ्रेको विकासप्रतिका कुरा सरकारसँग जोड्नुपर्ने छ । सिंहदरवारका प्रर्खालभन्दा होचा जनताहरुका विकासप्रतिको चाहना सिंहदरवारसम्म ल्याउनुपर्ने छ । सदनबाट जनताको कुरा उठाउनुपर्ने छ । काभ्रेमा एकिकृत खानेपानी बनेपा, धुलिखेल र पनौतिका लाखौ जनताले उपयोग गर्ने एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा छ । सरकारको त्यसमा ध्यान केन्द्रित गरेको हुँ ।’

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  २०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update