Harsamaya
१.६३ प्रतिशतले घट्यो महंगी दर
नेपाल राष्ट्र बैंक ।

काठमाडौं - नेपालमा महंगी दर १.६३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोही अवधिको तुलनामा चालू आर्थिक महँगी दर घटेको पाइएको हो ।

राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मूल्य वृद्धिदर ४.४० प्रतिशत थियो ।

त्यसैगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ ।

तर, तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अघिल्लो वर्षको वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेकोमा २०८२ वैशाख महिनामा यस्तो मुद्रास्फीति घटेर ३.९५ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update