
अमेरिका -अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदै छ। गत जुन ४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयन हुन लागेको हो । यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ । यो रोक आप्रवासन र गैर-आप्रवासन (नन-इमिग्रेसन) दुवै प्रकारका भिसामा लागू हुनेछ ।
राष्ट्रपति ट्रम्पले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धअन्तर्गत अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । त्यस्तै, आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।
ट्रम्पले जुन ४ मा विदेशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधानी अपनाउन भनेका थिए । उनले भनेका थिए, ‘यस्ता व्यक्तिहरू अमेरिका नआउन्, जसले अमेरिकी नागरिक वा राष्ट्रिय हितमा क्षति पुर्याउन सक्छन् । ’ उनका अनुसार, इमिग्रेसन भिसा लिनेहरू स्थायी बासिन्दा बन्ने भएकाले उनीहरूको जाँच कडा र आवश्यक हुन्छ। एक पटक प्रवेश पाइसकेपछि उनीहरूलाई निष्कासन गर्नु गाह्रो हुन्छ।
त्यस्तै ननइमिग्रेसन भिसा लिनेहरूमा जाँच कम हुन्छ, त्यसैले जुन देशमा परिचय र जानकारी आदानप्रदानको पर्याप्त व्यवस्था छैन, त्यहाँबाट आउनेहरूलाई रोक्नु आवश्यक हुने उनको तर्क थियो ।