Harsamaya
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायालयप्रति विश्वस्त छु : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् ।

एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनमा बोल्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भइरहेको बताएका हुन् ।

उनले भने, ‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ । हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतङ्कित पनि भएका छन् । पूर्वाग्रह राखेर बसेका छन्, बद्ला भावनाले उनीहरूलाई पोलिराखेको पनि छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ । भ्रष्टाचारको केस जसमा निर्णायक  आधार चाहिन्छ । माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भएँ, एक दाम जग्गा घुस लिएको भएँ, अनुचित काम गरेको भएँ, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भएँ त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु ।’

साथै उनले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताए । उनले आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनु नपर्ने बताए ।

उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ । हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update