Harsamaya
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई 
हेटौँडा उपमहानगरपालिका ।

हेटौँडा - विपद्को नाममा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाले नदीजन्य सामग्रीको उत्खनन् गरी ठेकेदारलाई दिएको पाइएको छ ।

हेटौँडा उपमहानगरपालिकाले खहरे तथा खोला उत्खनन् कार्यमा बदमासी भएको पाइएको हो । ठेक्का मार्फत खोला खहरे उत्खनन् गर्ने अनुमति दिएको ठेकेदारलाई विपद् व्यवस्थापन अन्तर्गत हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटेबाट २६ हजार घन मिटर उत्खनन् तथा बिक्री गर्ने गरी उत्खनन् गरिरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरि खोला खहरे उत्खनन् तथा बिक्री वितरण गरी विपदको नाममा वितण्डा गर्दै बदमासी गरेको हो । 

जिल्ला विपद व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकको निर्णय अनुसार हाल हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पोइन्ट बनाई उत्खनन् कार्य भइरहेको छ ।

यसै क्रममा हेटौँडा उपमहानगरपालिकाले विपद् बाहेक अन्य क्षेत्रमा ठेक्का मार्फत खोला उत्खनन् गरिरहेको छ । हेटौँडा, १६ मा पर्ने घ्याम्पेसहित आसपासका खहरे खोलामा ४६ हजार घनमिटर नदीजन्य सामग्री उत्खनन् गर्ने गरी ठेक्का लगाएको थियो तर, वडाका स्थानीयवासी, वडा कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले उत्खनन् गर्न नदिएपछि उक्त ठाउँमा उत्खनन् कार्य अघि बढ्न सकेको थिएन । 

निकुञ्जले उक्त क्षेत्रमा जम्मा १४ हजार घनमिटर भन्दा उत्खनन् गर्न नदिने बताएपछि उपमहानगरपालिकाले बाकी अपुग घनमिटरको नदीजन्य सामग्री विपद्बाट उत्खनन् गरी ठेकेदारलाई दिने भनि सोधभर्ना गरिएको पाइएको छ ।

विपद् व्यवस्थापनको बैठकले निर्णय गरी गरिएको उत्खनन् क्षेत्रको पदार्थ उपमहानगरपालिकाले घाटगद्धी गरी निश्चित ठाउँमा जम्मा पारी ठेक्का खुलाएर बिक्री गर्ने प्रावधान छ तर, निकुन्ज क्षेत्रको उत्खनन् गर्न नपाएपछि उपमहानगरपालिकाले विपद् तर्फकै सामग्री ठेकेदारलाई दिने सहमति गरेको छ, जुन कानुन विपरीत छ ।

यस विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने कार्यपालिकाको बैठकले नै निर्णय गरेर ठेक्का लगाइएको स्थानबाट नपुगेको सामग्री विपद् तर्फबाट भराइदिने निर्णय भएको बताए । कार्यपालिका बैठक भने अन्तिम पटक गत जेठ १३ गते मंगलबार बसेको थियो । यस विषयमा प्रमुख गौतमले सोझै झूट बोलेका छन् भने उपमहानगरपालिकाले नियम विपरीत विपद तर्फको नदीजन्य सामग्री सोझै ठेकेदारलाई दिने भएको छ ।

करिब ३२ हजार घनमिटर नदीजन्य पदार्थ कानुन विपरीत उपमहानगरपालिकाले ठेकेदारलाई दिने सहमति गरेको छ । घ्याम्पेबाट उत्खनन् गर्न निकुञ्जले नदिएपछी उपमहानगरपालिकाले विपद् तर्फबाट उत्खनन् गरिरहेको हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटे क्षेत्रको सामाग्री ठेकेदारलाई दिन लागेको हो । कानुन विपरीत यसरी विपदको नाममा प्राकृतिक दोहन गरी सोझै ठेकेदारलाई बेच्दा समेत सम्बन्धित नियामक निकायले यस तर्फ ध्यान दिएको छैन ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update