काठमाडौं - गृहमन्त्री रमेश लेखकले जिल्लाबाट नै आमाको नाममा नागरिकता दिनुपर्ने बताएका छन् ।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैखालका नागरिकता जिल्लाले दिइरहेको अवस्थामा आमाको नामबाट दिने नागरिकता पनि जिल्लाले दिनुपर्ने बताएका हुन् ।
‘सबैखालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोबास गरेका बाबुको ठेगाना नभएको अथवा बेपत्ता भएको, अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ? सबै नागरिकता जिल्लाले दिने आमाको नाममा नागरिकता चाहिँ मन्त्रालयले दिने भन्ने हुन्न । यसलाई जिल्लामा पठाउनुपर्छ भन्ने कुरामा म प्रष्ट छु,’उनले भने ।
उनले आमाको नामबाट सहज रुपमा नागरिकता दिन नियमावली नै संशोधन गरी अगाडि बढ्ने बताए ।
‘त्यसका लागि नियमावली नै संशोधन गर्ने कुरामा अगाडि बढेका छौं । नियम नै संशोधन गरेपनि काठमाडौंको मन्त्रालयमा भएका फाइलहरू सबै जिल्लामा पठाउने हो,’उनले भने ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र बहादुर शाहीले एनआरएनए नागरिकहरूको नागरिकताले मताधिकार नहुने भन्दै त्यसको औचित्य नभएको बताए ।