
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध भएको बताएका हुन् ।
उनले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबिच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिए ।
छुवाछूत तथा विभेदविरुद्ध लाग्न राष्ट्रपतिले सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीन वटै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी संवेदनशील हुन आह्वान गरेका छन् ।
“नेपालको संविधानमा बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ,” सन्देशमा भनिएको छ ।
सोच, शैली, प्रथा एवं सामाजिक प्रचलन तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याई आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धिबाट सामाजिक व्यवहारमा रहेको जातीय भेदभाव तथा छुवाछूतजन्यलाई घटाउन सकिने विचार व्यक्त गर्दै राष्ट्रपति पौडेलले सन्देशमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसबाट सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।